Oct 26, 2021

विपद्‍मा संसद्को भूमिका के हुन्छ ?

Apr 06 , 2020

काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबारका लागि तोकिए पनि सूचना टाँस गरेर स्थगन भयो । यसअघि पनि सूचना टाँस गरेर बैठक सारिएको थियो । अर्को बैठक चैत ३० गते १ बजेका लागि तोकिएको संसद् सचिवालयले जनाएको छ ।

विश्वभर कोरोनाभाइरसको संक्रमणले महामारीको रुप लिएपछि नेपाल अहिले लकडाउनमा छ । त्यसअघि नै सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनिसकेको छ । कोरोनाका कारण प्रतिकूल अवस्था रहेको भन्दै बैठक नबस्नुलाई सांसदहरुले स्वाभाविक भनेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस बैठक बस्न नसक्नु स्वाभाविक भएको बताउँछन् ।

अहिले मिनि संसद मानिने संसदीय समितिहरुको बैठक पनि बस्न सकेको छैन । तर, केही सांसदहरुले पनि संसदको बैठक बस्न नसके पनि सांसदहरुलाई कुनै विधि अपनाएर क्रियाशील बनाउनुपर्ने बताएका छन्  ।

गगन थापा भन्छन्– संसदकै समितिलाई सक्रिय बनाउन सकिन्छ

संसद्मा सक्रिय सांसदमध्येमा पर्छन् नेपाली कांग्रेसका सांसद गगन थापा ।  कोरोनाभाइरसको महामारी बढिरहेका बेला उनैले संसद्मा विशेष प्रस्ताव लगेका थिए । अहिले होम क्वारेन्टाइमा रहे पनि उनी कोरोनाविरुद्धको अभियानमा क्रियाशील देखिन्छन् ।

सांसद थापा संसद बस्न सक्ने अवस्था अहिले नदेखिए पनि संसदकै समितिलाई सक्रिय बनाउनुपर्ने धारणा राख्छन् ।

अहिलेको अवस्थामा राज्य व्यवस्था तथा सुशासन समिति र स्वास्थ्य समितिजस्ता समितिलाई कुनै न कुनै रुपमा सक्रिय राख्नुपर्छ भन्ने उनको मत छ ।

“सरकारको अहिलेको भूमिकालाई अनुगमन गर्नका लागि वैकल्पिक उपायहरु अपनाएर कसरी बैठक बस्ने भन्नेबारेमा सोच्नुपर्ने बेला आयो भन्ने लाग्छ,” सांसद थापाले भने, “संसदको पूर्ण बैठक बस्न सक्दैनौँ । पूर्ण बैठक नबसेको बेलामा अरु संसदीय समिति गठनको कुरा सम्भव पनि हुँदैन । संसदमै कार्यविभाजन भएका समिति छन् । प्रधानमन्त्री कार्यालय, सेनालगायत हेर्ने राज्यव्यवस्था समिति छ । स्वास्थ्य समिति छ । अहिले भएकै यिनै समितिलाई सक्रिय बनाउन सकिन्छ ।  भर्चुअल रुपमा पनि बैठक बस्नुपर्छ ।”

उनले बैठक बस्ने तरिका बदलेर भए पनि बैठक बस्न सकिने उनले बताए । उनले पार्टीको पनि बैठक कसरी बस्न सकिन्छ भन्ने बारे छलफल अघि बढाएको बताए ।

तर, सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने अहिले त्यस्तो अवथा नरहेको बताउँछन् । नेकपाका प्रमुख सचेतक देव गुरुङ्ग कोरोनाको उपचार नभएकाले अहिले सामाजिक दुरी कायम गरेर घरमै बस्नुपर्ने स्थिति भएको बताउँछन् ।

राज्यका सबै अंगहरु, दलहरु लकडाउन गरेर बस्नुपर्छ भन्नेमा एकमत रहेको र त्यसको अगुवाई सरकारले गरिरहेको उनले बताए ।

“सरकारले गर्ने कतिपय काममा कमी कमजोरी पैदा भएछन् भने पनि त्यसलाई सुझाव दिएर त्यसलाई कसरी सुधार गरेर अघि बढ्ने नै जुक्ति निकाल्ने हो अहिले,” उनले भने, “लकडाउनको स्थितिमा संसद् बस्ने त कुरै भएन । त्यसले गर्दा मिति सार्दै गइरहेको अवस्था छ । अहिले संसद् बस्ने सम्भावना छैन ।”
कोरोनाभाइरस विरोधि अभियानमा कमजोरी देखिए मिडियामार्फत सुझाव दिन सबैलाई खुला रहेको पनि उनले बताए ।

त्यस्तै, कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण पनि अहिले संसदलाई सक्रिय राख्ने अवस्था नभएको बताउँछन् ।

कोरोनालाई सामान्य रुपमा लिन नहुने भन्दै उनले संसदीय समिति बनाएर बैठक राखे निष्कर्ष निकाल्ने बेला नभएको बताए ।

“समितिहरु बैठक बसाल्ने । छलफल गर्ने । निष्कर्ष निकाल्ने पनि होइन । अहिले सुरक्षा निकायको मनोबल कसरी बढाउने, संक्रमितहरुको खोजी कसरी गर्ने, पहिचान कसरी गर्ने, कवारेन्टाइनलाई कसरी बलियो बनाउने भन्नेमा ध्यान दिनुपर्छ,” उनले भने, “लकडाउनलाई जनताले कोरोना नियन्त्रण गर्छ सरकारले भने साथ दिएका छन् । उनीहरुको विश्वास टुट्न दिनुभएन । चिकित्सक, नर्स, स्वास्थ्यकर्मीहरुको आत्मबल अझै बढाउनुपर्छ ।”

सरकारले यसमा उच्च मनोबलका साथमा जनताको रक्षा गर्नुपर्ने दायित्व निर्वाह गर्ने क्रममा जनताको हितमा, कोरोना नियन्त्रणका लागि जिम्मेवार भएर अघि बढ्न उनले सुझाव दिए ।  सरकारको पहिलो दायित्व उपचारमा खटिनेको मनोबल बढाउने, अस्पताहरुको क्षमता अभिवृद्धि गर्ने, परीक्षण शक्ति बढाउने कुरामा सरकारले ध्यान दिनुपर्ने र सो कार्यमा कांगे्रसको साथ रहने खाँणले बताए ।

कोरोनाको प्रकोप अहिले विश्वभरनै बढिरहेको भन्दै नेपालमा दोस्रो चरणमा प्रवेश गरिसकेकाले यस्तो बेलामा सबै राजनीतिक दलका नेता, कार्यकर्ता दलीय चिन्तनभन्दा माथि उठ्नुपर्ने उनी बताउँछन् ।

“प्रधानमन्त्रीज्यू अस्वस्थ भए पनि कोरोना नियन्त्रणको काम प्रभावकारी रुपमा लैजानुस् । जिम्मा दिएका मन्त्रीहरुले र सम्बन्धित निकायहरुले पनि आजै गर्नुपर्ने निर्णय आजै गरोस् । पार्टीका नेताहरु बोलिरहेका छन् । जनप्रतिनिधि हामीले सुझाव, परामर्श दिइरहेका छौँ,” उनले भने, “यस्तो महामारीका बेलामा कुनै अनियमितता, भ्रष्टाचार नहोस्, जनताको मन दुख्ने काम र महामारीको नियन्त्रण गर्नु साटो जनमत बिगार्ने काम कसैले पनि गर्नुहुँदैन । त्यसो गरेको भए छानबिन हुन्छ, कारबाही हुन्छ ।”

विपदमा संसद थप सक्रिय हुनुपर्छ  ः पूर्वसभामुख

पूर्वसभामुख तारानाथ रानाभाट देशमा संकट बढ्दा वा विपतको बेलामा थप सक्रिय हुनुपर्ने बताउँछन् ।

उनी सुरुमै कोरोना आउन नदिन सीमा व्यवस्थापन वा लक डाउन नगरेर कमजोरी भएको बताउँदै अहिले समस्या परेका बेला संसद कुनै न कुनै रुपमा सक्रिय हुनुपर्ने बताउँछन् ।

व्यक्तिगत वक्तव्य बाजीमा दल र नेताहरु रमाइरहेको भन्दै उनले सरकार र दलहरुलाई गम्भीर बन्न पनि आग्रह गरे ।