परशुराम नगरमा एक घरबाट अर्को घर जान पनि निशेष

डडेल्धुरा । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण कैलाली र कञ्चनपुरमा पनि देखिएपछि लकडाउनको अवस्थालाई परशुरा नगरपालिकाले झन कडाइ गरेको छ ।
नगर प्रमुख भीमबहादुर साउदले प्रेस विज्ञप्ति जारी गर्दै लकडाउनको अवधिमा एक वडाबाट अर्को वडा, एक वस्तीबाट अर्को बस्ती र एक घरबाट अर्को घर आवतजावत गर्न पूर्ण निशेष गरिएको जनाएका छन ।
‘लकडाउनको अवधिमा नगरले अख्तियार गरेको निर्देशन उलंघन गरे कडा भन्दा कडा कारवाही हुनेछ’, नगर प्रमुख साउदद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
आजको भयावह अवस्थामा हाम्रो देशमा पनि विदेश एवं छिमेकी मुलुक भारतबाट आएका केही व्यक्तिमा संक्रमण देखिएको र उक्त रोगले दोस्रो चरणमा प्रवेश गरिसकेकाले थप सजगता र कडाइ गर्नुपरेको नगरपालिकाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश झन बढी जोखिममा देखिएकाले अवैध नाकाहरु हुँदै लुकीछिपी नगरभित्र मानिसहरु प्रवेश भइरहेको जानकारी प्राप्त भइरहेको हुँदा त्यस्ता व्यक्तिलाई अबिलम्ब नजिकको क्वारेन्टाइनमा बस्न पनि नगर प्रमुख साउदले अपिल गरेका छन ।