Oct 25, 2021

५ राम्रा कोरियन फिल्म, युट्युबमा अंग्रेजी सबटाइटलसहित

Apr 05 , 2020

सन् १९१९ देखि सिनेमा बन्न थालेको कोरियाली सिनेमाले गत वर्ष सय वर्ष पूरा गर्नु एउटा इतिहास थियो। त्यसलगत्तै कोरियाली निर्देशक बोङ जोन हु निर्देशित ‘प्यारासाइट’ले कान र अस्करमा प्रमुख विधाका अवार्ड जित्नु अर्को इतिहास बन्यो। सबटाइटलमै अस्कर जित्ने कोरियाली सिनेमा पछिल्लो तीन दशकमा संसारभरका दर्शक माझ फैलिइसकेको छ।

थ्रिलर, प्रेम, राजनीतिदेखि जीवन दर्शनसम्मका विषयमा उत्कृष्ट फिल्म बनाउँदै आएको कोरियाका केही राम्रा फिल्म युट्युबमा अंग्रेजी सबटाइटलसहित हेर्न पाइन्छ। यहाँ कोरियाका प्रतिनिधि पाँच निर्देशकका फिल्म सिफारिश गरिएको छ।

लिटल फरेस्ट (२०१८) – निर्देशक यिम सुन राय

जंगलमा चराचुरूंगीको चिरबिर आवाज सुन्दै जाने बाटोबाट पुगिन्छ, मि सुङ ली गाउँ। यो स्याउ र चामल प्रशस्त उब्जने गाउँका रूपमा चिनिन्छ। यहाँका मान्छे केही किन्न परे सहर पुग्नुपर्छ। यसका लागि एक घन्टाको बाटो आउजाउ गर्नुपर्छ।

यो सोङ हे वोन हुर्किएको गाउँ हो। उच्चशिक्षाका सिओल पुगेकी उनी त्यहाँ सन्तुष्ट हुन सक्दिनन्। पढाइ, काम र सम्बन्धका कारण उनी आफ्नै गाउँ फर्किन्छिन्। सहरको भागदौडभन्दा परको यो ठाउँ शान्त र सुन्दर छ। तर उनको घर रित्तो छ। उनकी आमाको पत्तो छैन। उनीसँग आमाले लेखेका चिठी र बाल्यकालीन याद भने प्रशस्तै छन्।

एकल आमासँग हुर्किएकी सोङको गाउँमा उनका दुई बाल्यकालीन साथी छन्। जे हा बैंकमा काम गर्छिन् र गाउँबाट कहिल्यै बाहिर उम्कौं भन्ने सोचेर बसेकी छिन्। तर अर्को साथी युन सुक भने केही समय सहरमा बसेर फर्केका पात्र हुन्। उनी कृषकका रूपमा गाउँमै बस्न चाहन्छन्। सहर र गाउँप्रतिको आकर्षण यी दुई पात्रमा महशुस गर्न सकिन्छ।

सोङ हे वोन आफैं भने दुविधामा छन्। उनी गाउँमा टिक्छिन् टिक्दिनन् यसका लागि फिल्म हेर्नैपर्ला। के सोङ र उनकी आमाको भेट होला?

यी सबै अहिल्यै थाहा नपाए पनि यत्ति चाहिँ भनौं, यो फिल्ममा आमा छोरीको प्रेम र मित्रतासँगै खानेकुरा पनि केन्द्रमा छ। सोङ खाना भनेपछि हुरुक्कै हुन्छिन्। उनकी आमालाई जस्तै उनलाई पनि मीठा परिकार पकाउने सोख छ। फिल्ममा खानेकुराका परिकार देखेरै मुख रसाउँछ।

चारै ऋतुका भिन्न भिन्न रंगले आँखा लोभ्याउँछ। प्राकृतिक फलफूल होस्, चाहे फराकिला फाँट र बारी, सिनेमाटोग्राफीले त्यसको सौन्दर्यलाई मज्जाले खिचेको छ। पात्रको जीवनलाई जस्तै दर्शकलाई पनि फिल्मले प्रकृतिको नजिकै पुर्याइदिन्छ।

ठूला घटनाक्रमबिनै खाँदै खेल्दै ‘लिटल फरेस्ट’ फिल्मले कृत्रिम विकास र प्राकृतिक सौन्दर्यको तुलना गर्ने ठाउँ दिन्छ।

 

पोयट्री (२०१०) –निर्देशकः ली चाङ दोङ

‘पोयट्री’को पहिलो दृश्यमै खोलामा बगिरहेको युवतीको लास देखिन्छ। ती युवती ६० नाघेकी मिजाका नातिसँगै पढ्थिन्। युवतीले खोलामा हाम्फाल्नुअघि डायरीमा आफूलाई बलात्कार गर्ने छ जना केटाहरूको नाम लेखेकी थिइन्, जसमध्ये मिजाका नाति पनि एक हुन्।

सबै केटाका अभिभावक भेला भएर केटीको परिवारलाई क्षतिपूर्ति दिएर मुद्दा सल्टाउने सल्लाह भए पनि मिजा आफ्नो भागमा परेको पाँच लाख कहाँबाट जुटाउने भनेर चिन्तित छिन्।

अर्काको घरमा काम गरेर जीवन धानिरहेकी मिजाले नातिको खबर अर्को सहरमा बस्ने उनकी आमासँग लुकाएरै टार्ने ठानिरहेकी छिन्। योबाहेक मिजाको जीवनमा अर्को पनि संकट छ। उनी विस्तारै नामहरू भुल्न थालेकी छिन्। स्मृति हराउने रोग ‘अल्जाइमर’को संकेत देखिइसकेको छ।

यत्तिका संकटबीच पनि मिजामा बुढेसकालमा कविता लेख्ने धून सवार छ। उनी कविता सिक्ने कक्षा र कविता वाचन कार्यक्रममा सहभागी हुन थालेकी छिन्।

फूल र प्रकृतिमा कविताको स्रोत खोजी हिँड्ने उनी मौका पाउनासाथ जानकारहरूलाई सोधिरहन्छिन्, ‘कविता कसरी लेख्ने?’

कविता र उनको जिन्दगीको कथा सँगसँगै कसरी हिँड्ला? के उनी उनको नातिलाई बचाउन पैसा जुटाउन सक्लिन्? के मिजाले कविता लेख्न सक्लिन्?

लेखिन् भने, उनले लेख्ने कविता कस्तो होला? यी प्रश्नको जवाफ फिल्मले पक्कै दिनेछ।

निर्देशक ली चाङ दोङको निर्देशनको यो फिल्म हेरेपछि फिल्मको कथा र मुख्य पात्रको संवेदनाले धेरै दिन, सायद धेरै वर्षसम्म छोइरहनेछ।

एकातिर अनेक दुःखले गुम्सिएको व्यक्तित्व, अर्कोतिर चिटिक्क परेर हिँड्नु पर्ने, फूल देखेर रमाउने, केही फुर्‍यो कि डायरीमा टिपिहाल्ने मिजास भएकी मिजा। उनको अभिनय यो फिल्मको शक्तिशाली पक्ष हो।

कथा, प्रस्तुति र अभिनय धेरै हिसाबले सशक्त फिल्म हो, पोयट्री।

 

मदर (२००९)- निर्देशकः बोङ जोन हु

‘प्यारासाइट’ बनाउनुअघि नै बोङ जोन हुलाई चिनाउने केही फिल्ममध्ये एक हो, ‘मदर’। यो ‘मर्डर-मिस्ट्री’ फिल्म प्यारासाइटजस्तै ‘सर्प्राइजिङ’ छ। कथाले कुन बेला कस्तो मोड लिन्छ, भेउ पाउनै गाह्रो। फिल्म हेरून्जेल के होला भन्ने कौतुहल रहिरहन्छ।

दक्षिण कोरियाको दक्षिणी भेगको एउटा गाउँमा जडीबुटी बेच्ने र बिना लाइसेन्स अकुपंचरको सेवा दिने महिला छन्। उनको परिवारमा उनी र २२ वर्षे छोरा दो जुन छन्। छोराको मानसिक स्थिति सुस्त छ। फिल्मको सुरूआती केही दृश्यमै छोरालाई गाडीले ठक्कर दिँदा होस् वा खाना खुवाउँदा छोराप्रति आमाको माया कति धेरै छ, दर्शकलाई महशुस भइहाल्छ।

एक दिन त्यही छोरालाई प्रहरीले एउटी युवतीको हत्याको अभियोगमा पक्राउ गर्छ। यो घटनापछि आमाको दिनचर्या र मानसिक अवस्था विथोलिन्छ। उनी छोरा निर्दोष छ भन्ने प्रमाणित गर्न हत्याराको खोजीमा सक्रिय हुन्छिन्। यसक्रममा कथाले झनै रोचक मोड लिँदै जान्छ। के उनी छोरालाई निर्दोष साबित गर्न हत्यारासम्म पुग्न सफल होलिन्?

यसको जवाफ फिल्म हेरेरै थाहा पाउँदा रमाइलो हुन्छ।

सुरूदेखि नै केही रहस्य लुकेको महशुस गराउन यसमा पात्रका हाउभाउ र क्यामराको एंगललाई पनि सोहीअनुसार प्रयोग गरिएको छ। ओठभन्दा पात्रका आँखा बोल्छन्। पात्रको आधा अनुहार मात्र देखाएर क्यामराको प्रयोगले कथा रहस्यमयी बनाउन सघाएको छ।

पहिलो दृश्य र अन्तिम दृश्यको नृत्य सांकेतिक र दार्शनिक छ। सुरूमै आउने गाडी दुर्घटनाले पनि कथामा आउने सम्भावित दुर्घटनाहरूलाई संकेत गर्छ। फिल्ममा आमाको भूमिका निर्वाह गर्ने मुख्य पात्र किम हाय जाको अभिनय शानदार छ। उनी कोरियन टेलिभिजन शृंखलाकी ‘मदर फिगर’ हुन्।

निर्देशकले उनको ‘मदर’मा नितान्त नयाँ अवतारमा प्रस्तुत गरेका छन्। उनको अभिनयले दर्शकको मन जित्छ। ‘प्यारासाइट’का यी निर्देशकको अर्को चर्चित फिल्म ‘स्नोपिअर्सर’ युट्युबमा अंग्रेजी भाषामै हेर्न पाइन्छ।

 

स्प्रिङ, समर, फल, विन्टर एन्ड स्प्रिङ (२००३)- निर्देशक किम कि दुक

यो फिल्ममा तीन प्रमुख पात्र छन्– गुरु, चेला र प्रकृति। फिल्ममा पात्र र प्रकृतिबीच तादात्म्य छ। पहाडी जंगलको बीचमा रहेको ताल अनि तालको बीचमा पानीमा तैरिरहेको गुम्बा। निर्देशक किम कि दुकले बौद्ध भिक्षुसँग हुर्किएका चेलाको जीवनका चक्र र प्राकृतिक ऋतुचक्रलाई स्प्रिङ, समर, फल, विन्टर एन्ड स्प्रिङ गरी पाँच चरणमा समेटेका छन्।

स्प्रिङ चेलाको बाल्यकालको रुपमा चित्रित छ। यो बालकले गुरुसँग सिक्ने उमेरका रुपमा आउँछ जुन जिज्ञासू, निर्दोष र रमाइलो पनि छ। समर चेलाको किशोरकाल कथा यो। यो हरेक मान्छेको जीवनमा आँधीबेहरी बोकेर आउने समय हो। चेला यो बेला गुम्बाभन्दा बाहिरको संसारप्रति आकर्षित र उत्सुक हुन्छ। यो उत्सुकले गुम्बाकै मूल्य मान्यताको घेरा नाघ्ने खतरा पनि बढ्छ।

यी र यसपछि आउने चरणलाई जसरी वर्णन गरिएको छ, त्यसले फिल्मलाई अझै रोचक र परिपक्व बनाउँदै लान्छ। प्रकृति होस् वा जीवन परिवर्तन यसको अनिवार्य नियम हो। यही नियमले गुम्बाको जीवनलाई बदलेको देखिन्छ। हरेक ऋतुलाई देखाउन वर्षौं लगाएर छायांकन गर्ने निर्देशक किम कि दुकले गुम्बा मार्फत सृष्टिकै चक्रबारे धेरै कुरा भनेका छन्। तर संवाद हैन, दृश्य मार्फत्।

उनी आफ्ना फिल्ममा हिंसा र आध्यात्म दुवै पक्षलाई सशक्त चित्रण गर्ने निर्देशकमा पर्छन्। दर्जनौं राम्रा फिल्म बनाएका किम कि दुकका ‘स्प्रिङ, समर, फल, विन्टर एन्ड स्प्रिङ’लाई समीक्षकले उनको ‘मास्टरपिस’ मानेका छन्। युट्युबमै सबटाइटलसहित ‘एरिर्‍याङ’ नामक चर्चित वृत्तचित्र पनि हेर्न पाइन्छ।

 

सोपिओन्जे (१९९३)- निर्देशकः इम कोन तेक

‘सोपिओन्जे’ निर्देशक इम कोन तेकको सर्वाधिक प्रशंसित फिल्म हो। यति मात्रै कहाँ हो र, यो फिल्मलाई कोरियाली इतिहासकै सांस्कृतिक पुनर्जागरणको उदाहरण मानियो।

त्यस्तो के छ त ‘सोपिओन्जे’मा?

पान्सोरी नामले पनि चिनिने सोपिओन्जे परम्परागत लोक संगीत हो। निर्देशक इम कोन तेक हुर्केबढेको भेगको यो संगीत परम्परामा गायनलाई ड्रम बजाएर साथ दिइन्छ। हाम्रो देउडाजस्तै सुनिने यसमा ब्लुजझैं पीडा छ।

जापानी उपनिवेश र अमेरिकी प्रभुत्वका कारण कोरियाली मौलिक संगीतको संकट महशुस गरेका निर्देशकले त्यही परम्परा केन्द्रमा राखेर बनाएको फिल्म हो, सोपिओन्जे।

फिल्म मुख्य तीन पात्रको वरिपरि घुमेको छ। यु बोंग राम्रो पान्सोरी गाउने मास्टर हो। उनका दुई जना धर्म-सन्तान साथमा छन्। यु बोंग छोरीलाई गायन र छोरालाई ड्रम सिकाउँछन्। यी तीन जना गाउँ-बजार डुल्दै परम्परा धान्ने र जीवन गुजारा चलाउने काम गरिरहेका छन्। समाजको नजरमा उनीहरू तल्लो समुदाय हुन् जसको काम सेवा दिनु मात्रै हो।

बस्ने-खाने दिगो आधार नभए पनि बुवा यु बोंगमा आफ्नो सन्तानलाई पान्सोरीविज्ञ बनाउने भूत सवार छ। यसका लागि उनी सन्तानलाई गाली गर्न वा पिट्न पनि पछि पर्दैनन्।

छोरी ज्ञानी भए पनि छोरा बुवासँग असन्तुष्ट छ। गाली खाई-खाई ड्रम बजाउन नसकेपछि ऊ एक दिन बुवा र दिदीबाट भागेर टाढा जान्छ।

भाइ भागेपछि दिदीले गाउन नसक्दा बुवामा चिन्ता थपिन्छ। सन्तानलाई जसरी पनि श्रेष्ठ संगीतज्ञ बनाउने जिद्दी बोकेका बुवाले अब के गर्लान्?

बुवासँग रिसाए पनि दिदीलाई औधी माया गर्ने भाइ फेरि फर्केर आउला या नआउला? यसपछिका घटनाक्रममा यसकै जवाफ भेटिन्छ।

संगीतले बचाउला? योभन्दा अघिको कथा जे छ, त्यो झनै मार्मिक छ, हेर्नुहोला।

जुंग इल सुंगको सिनेमाटोग्राफीले दर्शकलाई फिल्मका केही दृश्य स्टिल फोटोग्राफी हेरेको भान गराउँछ।

दिदीको भूमिकामा ओ जुङ हायको अभिनय र गायकीसँगै उनले निर्वाह गरेको चरित्रले पनि मन हर्छ। यो फिल्म पान्सोरीको कथा मात्रै थिएन, लामो समय बाहिरी शक्तिको नियन्त्रणमा थिचिएका कोरियाली जनताको सामूहिक पीडाको प्रतिविम्ब पनि थियो।