Sep 24, 2023

रंगकर्मी आकांक्षा भन्छिन्- हरेश नखाई रुटिनमा चल्न सके लकडाउनको सदुपयोग हुन्छ

Mar 29 , 2020

घरभित्रै बस्नु आजको समयको मुख्य सामाजिक दायित्व हो। कोरोना भाइरसको खबर छिनछिनमा हेर्दै–सुन्दै घरमा आरामले समय बिताउन सजिलो भने छैन। यो भयसहितको फुर्सद हो।

यस्तो बेला सकारात्मक ऊर्जाका लागि कला–मनोरञ्जनका माध्यम साथी बनेका छन्। सामाजिक सञ्जालका पोस्ट हेरे देखिन्छ– हात धुने र घरमै बस्ने सूचनासँगै धेरै मान्छे संगीत, फिल्म र किताबका कुरा साटिरहेका छन्।

लकडाउनको यो समयमा रंगमञ्च निर्देशक-कलाकार आकांक्षा कार्की पनि धेरै समय पढेर वा सिनेमा हेरेर बिताइरहेकी छिन्। यसअघि खाना बनाउन अल्छी लाग्ने उनलाई अचेल पकाउने काम पनि रमाइलो लाग्दैछ।

टेकुस्थित कौसी थिएटरकी संस्थापक आकांक्षा भन्छिन्, ‘आफूलाई उत्प्रेरित गराइराख्न सक्रिय हुने प्रयास गरिरहेकी छु।’

कोरोनाका कारण सार्वजनिक क्षेत्रका गतिविधि ठप्प हुनुअघि उनी कौसी थिएटरमा नयाँ नाटक रिहर्सलमा व्यस्त थिइन्। जर्ज अरवेलको बहुचर्चित उपन्यास ‘एनिमल फार्म’को नाट्य रुपान्तरण गरी उनीसहित १२ जना करिब दुई हप्तादेखि रिहर्सलमा थिए। यसैबीच सार्वजनिक वृत्तमा हुने गतिविधि बन्द भएपछि कौसीका रिहर्सल, तालिम र वर्कसप पनि रोकिए।

नाटकको भविष्यभन्दा बढी कोरोनाको असरले पिरोलिरहेको छ। उनी भन्छिन्, ‘यो संकटबाट हामी सबैले कहिले र कसरी छुट्कारा पाउने होला भन्ने चिन्ता छ।’

उनीहरूले घरबाटै अनलाइन रिहर्सल गर्ने सोचेका रहेछन्। तर कोरोना महामारीबीच रिहर्सल असान्दर्भिक बनिदियो।

रातो बंगला हुँदै भारतको बैंगलोर क्राइस्ट कलेजमा उच्चशिक्षा क्रममा पाँच वर्ष बिताएकी आकांक्षाले पर्फमिङ आर्ट, अंग्रेजी साहित्य र मनोविज्ञान समेटिएको कोर्स अध्ययन गरेकी थिइन्। ‘हाउ डिफरेन्ट फर्म्स अफ थिएटर क्यान बि थेराप्युटिक’ शीर्षकमा स्नातकोत्तर थेसिस गरेकी उनी रंगमञ्चमा थेरापी र हिलिङको काम जोडेरै अघि बढिरहेकी छिन्।

आकांक्षाले ‘कथाघेरा’ मार्फत ‘अन द स्पट’ मान्छेका कथा सुनेर प्लेब्याक थिएटर शैलीको माध्यमबाट विभिन्न ठाउँ र परिवेशमा नाटक मञ्चन गर्दै आएकी छिन्। दर्शकले आफ्नै कथा हेर्न पाउने भएकाले कथाघेराले थेरापी र हिलिङको काम गर्ने उनको अनुभव छ।

नेपाल फर्केर पूरा समय नाटकमा दिनुअघि युलेन्समा काउन्सिलिङ साइकोलोजी पढाएकी उनी भन्छिन्, ‘रंगमञ्च र काउन्सिलिङसँगै लगे पनि अहिले काउन्सलिङ नै जरूरी छ। साथीहरूसँग के कसरी अनलाइन काउन्सलिङ गर्न सकिन्छ भनेर सल्लाह गरिरहेछु।’

भुइँचालोपछि बालबालिकालाई काउन्सिलिङ दिएकी उनी एक-डेढ वर्ष विश्रामपछि फेरि यो काममा फर्किने तयारी गरिरहेकी छिन्।

आकांक्षा हालको अवस्थालाई अनिश्चितता भन्छिन्। उनको भनाइमा, अवस्था जति अनिश्चित भयो, त्यो नियन्त्रण गर्न झनै गाह्रो हुन्छ र संकट बढ्दै जान्छ।

‘कोरोना नफैलिँदै हामी गलिसकेको अवस्था छ। हिम्मत नहार्नु नै सबभन्दा ठूलो आवश्यकता हो,’ उनी भन्छिन्, ‘सामाजिक दुरी पालना गर्दै आफूलाई सकारात्मक र व्यस्त बनाइराख्नु जरुरी छ।’

सामाजिक सञ्जालमा धेरै समय खर्चने हाम्रो बानीले भने दीर्घकालीन रूपमै नकारात्मक असर पार्ने उनी बताउँछिन्। सामाजिक सञ्जालसँग विरक्तिएकी आकांक्षा केही महिनादेखि फेसबुक र ट्वीटर बन्द गरेर इन्स्टाग्राम मात्रै चलाइरहेकी छिन्। आफ्नै अनुभव सुनाउँछिन्, ‘सामाजिक सञ्जाल कम चलाउँदा मानसिक शान्ति महशुस गरिरहेछु।’

कोरोनाका कारण जीन्दगी बन्दीसरह भएको छ। लकडाउनमा घर बस्दा अनेक चिन्ताले पछ्याउँछ। तेल, नुन, औषधि जुटाउनेदेखि रोजगारी र भविष्यसम्मको चिन्ता। सबभन्दा ठूलो त मरिएला कि भन्ने चिन्ता।

आकांक्षा भन्छिन्, ‘इन्टरनेटमा बढी झुन्डिएको चिन्तादेखि घर बसेर धेरै खाइयो भन्नेसम्मले पिरोल्छ। फुर्सद र चिन्ता दुवै बढी भएको यस्तो बेला रक्सी, चुरोटजस्ता अम्मलीले बढी सेवन गर्ने सम्भावना छ, जसले अर्को संकट ल्याउन सक्छ।’

तनावका कारण आत्तिने, निदाउन नसक्नेजस्ता समस्या आकांक्षा आफैंले पनि भोगेकी छिन्। जोड दिँदै भन्छिन्, ‘भन्न सजिलो, गर्न गाह्रो छ। तर हरेश नखाई रुटिनमा चल्ने बानी बसाउन सक्यौं भने यो लकडाउनलाई सदुपयोग गर्न सक्छौं।’

संसारभरको खबरबारे जानकारी राख्ने आकांक्षाको बानी छ। त्यही बानीले दुनियाँभरको चिन्ता बढेपछि उनले सामाजिक सञ्जालसँग दुरी बढाएकी हुन्। सकारात्मक ऊर्जा दिने आफन्त र साथीसंगीसँगको फोन वा भिडिओ कुराकानीले फाइदा गर्ने अनुभव बोकेकी उनी अरूलाई पनि त्यस्तै सुझाव दिन्छिन्।

मानसिक स्वास्थ्यमा कोरोनाको असर धेरै समय पर्ने निश्चितजस्तै छ। उनी विभिन्न चरणमा काउन्सिलिङ खाँचो देख्छिन्। नेपालमा कोरोना संक्रमित बढ्दै गए भने मान्छेलाई अहिलेभन्दा धेरै बढी ‘प्यानिक’ बनाउनेछ। त्यस्तो अवस्थामा अनलाइनमार्फत् प्रत्यक्ष निःशुल्क परामर्श उपलब्ध गराउनु पर्छ।

उनी थप्छिन्, ‘द्वन्द्व, प्राकृतिक प्रकोपजस्तै महामारीपछिको पुनर्स्थापना चरणमा हुने काउन्सिलिङको महत्व त छँदैछ।’

महामारी सकिएर स्थिति सामान्य भएपछि भने उनी फेरि नाटकको महत्व देख्छिन्। तर संकट बेला मेरो कार्यक्षेत्र यही मात्रै हो भनेर हात बाँध्न नहुने उनको धारणा छ। अहिले ठ्याक्कै के गर्नुपर्छ भन्ने अन्यौल भए पनि राहत र स्वयंसेवी काममा कलाकारले योगदान दिनसक्ने उनी बताउँछिन्। भन्छिन्, ‘रंगमञ्चले हामीलाई धेरै सिकाएको छ। त्यहाँ सिकेको कुरा समाजमा लागू गर्ने अवसर हो यो।’

जाडो सकिएपछि दसैं सुरू नहुन्जेल रंगमञ्चको सिजन मानिन्छ। आकांक्षाका अनुसार उनी धेरै अघिदेखि नै ‘एनिमल फार्म’ नाटकमा काम गर्न चाहन्थिन्। नयाँ ऊर्जासहित काम गर्दागर्दै बीचमै ठूलो अवरोध आउँदा केही दिन दिक्क लागेको रहेछ। अब त रंगमञ्च चल्न महिनौं लाग्न सक्छ। उनी चित्त बुझाउन सक्ने भइसकेकी छिन्।

‘व्यक्तिगत कारण भएका भए मैमाथि किन भनेजस्तो हुन्थ्यो होला। तर यो सामूहिक विपतका कारण धेरै मारमा परेका छौं। दैनिक ज्यालादारी काम गर्नेको दुःख अझै ठूलो छ।’

तै पनि यस्तो संकटमा संगीत वा फिल्म विधा जस्तै नाटकलाई दर्शकसम्म लान नसक्दा भने उनी खिन्न छन्।

‘दर्शक र कलाकार एकअर्का नजिक रहेरै प्रत्यक्ष मञ्चन हुनु नाटकको विशेषता हो,’ उनी भन्छिन्, ‘अहिले यही विशेषता सीमा बनिदिएको छ।’

हो पनि। सिनेमा हल बन्द भए पनि नेटफ्लिक्स र युट्युब जस्ता साइटमा प्रयोगकर्ता ओइरिएका छन्। संगीतकारहरूले फेसबुकमा लाइभ संगीतमार्फत स्रोताको दुःख भुलाउने प्रयास गरिरहेका छन्। साहित्यकै कुरा गर्ने हो भने पनि, कथा-बालकथा सुनाइरहेका छन्।

यस्तो बेला आकांक्षाजस्ता रंगकर्मीलाई आफ्नै विधागत सीमामा बाँधिएको महशुस हुने नै भयो।

सेक्सपियरले उहिल्यै यो संसारलाई नै एक रंगमञ्च भनेका हुन्। कोरोना महामारीले नाटकीयता र वियोगसहितको कथा लेखिदिएको छ। आकांक्षा र उनीजस्तै धेरै पात्र आ–आफ्नो भूमिका खोजिरहेका छन्।

आकांक्षा भन्छिन्, ‘समाज रूपान्तरणका लागि स्टेजमै खुम्चिनु पर्दैन।’