चैत २५ सम्म लकडाउन, महंगा गाडि, मदिरा आयातमा रोक, निजी विद्यालयले शुल्क र घरबेटीले भाडा नलिन सरकारको निर्णय

काठमाडौं । देश यतिबेला कोरोना संक्रमणको त्रासमा लकडाउन गरिएको छ । चैत ११ देखि १८ गतेसम्मका लागि गरिएको लकडाउनको म्याद थपेर २५ गतेसम्म पुर्याइएको छ । मानिसहरुको कामकाज मात्रै होइन घरबाट बाहिर निस्कन समेत बन्द भएको छ ।
सरकारले यो विपदको अवस्थामा निजी विद्यालयहरुले एक महिनाको शुल्क मिनाहा र घरधनीहरुले पनि चैन महिनाको घरभाडा छुट गर्नुपर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संकटलाई मध्यनजर राख्दै यस्तो निर्णय गरेको हो।
बैठकले खाद्य संस्थानमार्फत खाद्य सामाग्रीमा १० प्रतिश छुट दिने निर्णय गरेको छ । त्यस्तै इन्टरनेट र विद्युत (१५० युनिट खपत गर्नेलाई) मा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ। औद्योगित क्षेत्रलाई पनि विद्युत महशुलमा निश्चित छुट दिइने भएको छ।
औद्योगिक तथा व्यवसायिक क्षेत्रलाई लाभ दिने उद्देश्यका साथ कर तिर्नुपर्ने म्यादलाई बैशाख २५ सम्म सारिएको छ । विद्युत र टेलिफोन महसुल बैशाख मसान्तसम्म बुझाउन सकिने व्यवस्था गरेको छ।
कोरोना सम्वन्धी औषधी खरिदका लागि स्वास्थ्य मन्त्रालयलाई थप बजेट दिइने र विभिन्न स्वास्थ्य उपकरणमा भन्सार माफि दिइने भएको छ ।
सरकारले अब बिलासी गाडी भित्र्याउन पनि बन्देज लगाएको छ । अब ६० लाखभन्दा महंगा गाडी नेपालमा भित्र्याउन नपाइने भएको छ । मन्त्रिपरिषद्को बैठकले मदिरा आयातमा पनि रोक लगाएको छ । यस्तै मरिच, सुपारी, केराउ, छोकडा आयातमा पनि रोक लगाइएको सरकारका प्रवक्ता तथा अर्थ र सञ्चारमन्त्री डा युवराज खतिवडाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन ।
हालसम्म नेपालमा पाँच जनामा कोरोना देखिएको छ। तीँ मध्ये एक जना संक्रमण मुक्त भइसकेका छन्। अन्य चार जना उपचारका क्रममा छन ।