Sep 26, 2023

तीनदेखि १३ वर्षका केटाकेटीलाई निःशुल्क गुगल कक्षा, यसरी गर्न सकिन्छ भर्ना

Mar 28 , 2020

सात वर्षीया अश्लेषा गिरीको दिनचर्या फेरिएको छ। उनी अचेल कथा लेख्छिन्, चित्र बनाउँछिन्। कहिले फूलको फोटो खिच्न बगैंचा डुल्छिन्।

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश ‘लकडाउन’ छ। कोरोडा इन्टरनेसनल स्कुलमा कक्षा दुई अध्ययनरत अश्लेषाको पढाइमा पनि ‘ब्रेक’ लागेको छ। सिक्नेक्रम भने रोकिएको छैन।

‘स्पाइनी ब्याबलर इभोलुसन अनलाइन एजुकेसन प्रोगाम’ले उनको दिनचर्या सिर्जनशील बनाइदिएको छ। गुगल कक्षामार्फत स्पाइनी ब्याबलरले अश्लेषाजस्ता केटाकेटीलाई घरैमा पढ्ने-सिक्ने वातावरण मिलाइदिएको छ।

तीनदेखि १३ वर्षका केटाकेटीले अनलाइन कक्षा लिन सक्छन्। त्यहाँ कला, विज्ञान, गणित, सामाजिक ज्ञान, फिटनेस, भाषा विकास लगायत शिक्षा रमाइलो तरिकाले सिकाइन्छ।

अश्लेषाको बुवा लक्ष्मण गिरी पनि भन्छन्, ‘यो कार्यक्रमले हामीजस्ता अभिभावकलाई पनि सजिलो बनाएको छ। गुगल कक्षामा राखिएका भिडिओ, लिंक र गृहकार्यले छोरीलाई व्यस्त राखेको छ। आजको कक्षा सुरू गरौं बाबा भन्दै आफैं आउँछिन्।’

बैंकमा काम गर्ने लक्ष्मण आफैं पनि घरै छन्। छोरीसँगै आफ्नोसमेत समय सदुपयोग भएको बताउँछन्।

‘तीन–चार घन्टा गुगल कक्षामै बित्छ। छोरीले रमाउँदै सिकेको देख्दा खुसी छु,’ उनले टेलिफोनमार्फत कुराकानी गर्दै भने।

कलंकीस्थित कक्षा ६ मा अध्ययनरत १२ वर्षीय विपुल पन्त पनि यो कक्षामा जोडिएका छन्। दुई सातादेखि घरमै थन्किएका उनी कहिले टिभी त कहिले खेल्ने–कुद्नेमा समय बिताउँथे। केही दिनयता अश्लेषाजस्तै सिर्जनशील काम गर्छन्।

स्पाइनी ब्याबलरले ‘स्टोरी साइकल’ को सहकार्यमा यो कार्यक्रम सुरू गरेको पाँच दिन भयो। कक्षामा नेपाल र नेपालबाहिरका ८२ जना भर्ना भएको स्पाइनी ब्याबलर इभोलुसनका संयोजक पल्लभ रञ्जनले जानकारी दिए।

गुगल कक्षामा पठाइने कार्यक्रम सुरूमा पल्लभले आफ्नै ६ वर्षीया छोरीलाई देखाएर परीक्षण गरे। त्यसको परिणाम हेरेपछि कस्तो ठीक हुन्छ भन्ने निर्क्यौल गरेर बल्ल कक्षामा पठाउँछन्।

‘सबै अभिभावकलाई गुगल क्लासबारे थाहा नभएकाले केही गाह्रो छ। प्रविधि बुझ्नेहरूले त चाँडै अन्तर्क्रिया गर्नुहुन्छ। जसलाई गाह्रो हुन्छ इमेल पठाइरहेका छौं। उहाँहरूले आफ्ना छोराछोरीले बनाएको कामको पिडिएफ फाइल पठाउनुहुन्छ,’ उनले भने, ‘हामीसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सल्लाहकार हुनुहुन्छ। केटाकेटीको काम हेरेर उहाँहरूले सुझाव तथा प्रतिक्रिया दिनुहुन्छ।’

लकडाउन भएकाले यो कक्षा केही महिनाका लागि निःशुल्क छ। आफ्ना केटाकेटीलाई संलग्न गराउन चाहनेले गुगल फारम भर्नुपर्छ। फारम भरेपछि तपाईं स्पाइनी ब्याबलरको गुगल कक्षामा जोडिनुहुन्छ। कक्षा वा इमेलमा पठाइएका गृहकार्य घरैबाट पठाउन सकिन्छ।

‘कसैलाई प्राविधिक सहयोग चाहिएला भनेर हामी फोन पनि गरिरहेका हुन्छौं। सहयोग चाहिनेलाई निर्देशन पनि दिन्छौं,’ पल्लभले भने।

यो अन्तर्राष्ट्रिय कार्यक्रम भएकाले कोही अमेरिका, कोही स्विडेन त कति नेपालका छन्। सबै देशको समय फरक। त्यसैले सबै देशका केटाकेटीलाई एकै समयमा बोलाएर अनलाइन कक्षा सञ्चालन गर्न सम्भव नभएको उनी बताउँछन्।

‘यो समयमा आउनुभन्दा उहाँहरूलाई अप्ठ्यारो हुन्छ। यसैले आफ्नो उमेर र क्षमताअनुसार जे सक्नुहुन्छ, त्यो गर्नुहुन्छ,’ उनले भने, ‘फोटो, चित्र, लेख, भिडिओहरू पठाउनुहुन्छ। विज्ञानको परीक्षण र योग गर्नुहुन्छ। हामीले सोचेभन्दा राम्रो गरिरहनुभएको छ।’

केटाकेटीले आफ्ना सिर्जनशील गतिविधि रमाइलो तरिकाले सिक्छन्। त्यसलाई आफ्नो क्षमताअनुसार गर्छन्। परिवारले उनीहरूलाई सहायता दिन्छन्। उनीहरूले आफ्नै कल्पनाको हावी गर्न पाउने भएकाले स्व-विकास पनि हुने पल्लभ बताउँछन्।

कति कुरा साना बच्चालाई सिक्न समय लाग्न सक्छ, ठूलाले चाँडो सिक्छन्। आफ्नो क्षमता र इच्छाअनुसारको विषय आफैं छान्न पाउँछन्।

‘साना केटाकेटीलाई परिवारको भूमिका बढी हुन्छ। परिवारले पनि हेर्दै, उनीहरूसँग बस्दै गर्नुहुन्छ। गुगल क्लास ह्यान्डल गर्न गाह्रो भयो भन्ने धेरैको गुनासो छ। त्यसका साथै सानालाई यो कार्यक्रम अझै प्रभावकारी बनाउन सकिन्छ भन्ने पनि छ। यही सामग्रीलाई कसरी सबैलाई हुने बनाउन सकिन्छ भनेर सोचिरहेका छौं,’ उनले भने।

सन् १९९१ देखि स्पाइनी ब्याबलरले ज्ञान, कला र शिक्षामा काम गर्दै आएको छ। ज्ञानलाई कलाको माध्यमसँग जोडेर शिक्षा दिने यसको मुख्य उद्देश्य हो। चाकुपाट, ललितपुरमा स्पाइनी ब्याबलर प्रि–स्कुल पनि सञ्चालनमा छ।

‘स्कुल शिक्षामा यही शैली प्रयोग गरेका छौं। यही कुरा सर्वसाधारणमा पुग्दा कस्तो होला भन्ने थियो, राम्रै भइरहेको छ,’ पल्लभले भने, ‘लकडाउनमा बालबालिकाको समय रमाइलो र सिर्जनशील बनाउन खोजेका छौं।’

लकडाउन केटाकेटीका लागि झनै जटिल समय हो। खेल्न, कुद्न र घुम्न नपाउँदा छट्पटाउने नै भए। गुगल कक्षामा पठाइएका भिडिओमा देखिने ठाउँ देखाउँदै कहिलेकाहीँ अश्लेषाले पनि बुवालाई भन्छिन् रे, ‘बाबा, बन्द खुलेपछि घुम्न जानुपर्छ है।’

गुगल कक्षाका लागि फारम भर्न यहाँ क्लिक गर्नुस्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!