पार्टीमा लगाउन लुगा अब छानिछानी भाडामा पाइन्छन्

काठमाडाैँ– ललितपुरस्थित सानेपाकी २२ वर्षीया रचना खत्रीलाई पटक–पटक विवाह, व्रतबन्ध लगायतका कार्यक्रममा गइरहनु पर्छ। त्यस्ता दिनहरु नजिकिदै जाँदा उनको टाउको दुखाइको विषय बन्थ्यो नयाँ कपडा।
एक पटक लगाएको कपडा उनलाई पार्टीमा फेरि लगाउन मन पर्दैन तर बारम्बार नयाँ कपडा सिलाउने क्षमता पनि उनको हुन्न थियो। तर केही दिनयता उनको मन चङ्गा भएको छ, कारण उनले भाडामा ‘पार्टी वेयर’ ल्याउने सुविधा पाएकी छन्।
पुल्चोकस्थित ‘एन्टिडोट नेपाल’ले रचना जस्ता धेरै युवतीलाई सजिलो बनाएको हो। मनिषजंग थापाले सञ्चालन गरेको एन्टिडोट नेपालमा छानी–छानी भाडामा ‘पार्टी वेयर’ पाइन्छ। त्यसबारे थाहा पाएपछि तत्कालै एन्टिडोट पुगेकी रचनाले कलेजको पार्टीका लागि सारी लिइन्। भाडा पनि उनलाई महँगो लागेन र कपडाको गुणस्तर पनि राम्रो पाइन्।
वर्षौदेखि झेलिरहेको समस्या समाधान भएपछि रचनाले ‘पार्टी वेयर’मा आफूजस्तै अन्यौलमा पर्नेहरुलाई एन्टिडोट पठाउने गरेकी छन्।
वास्तवमा धेरैलाई पार्टीमा एक पटक लगाइसकेको कपडा फेरि अर्को पार्टीमा लगाउन मन लाग्दैन। पटकपटक नयाँ कपडा सिलाउन झन्झट त हुन्छ नै, आर्थिक क्षमताले पनि भ्याउँदैन। त्यसलाई ख्याल गरी एन्टिडोट सञ्चालन गरेको थापा बताउँछन्।
आठ महिनाअघि थापाले एन्टिडोट एक्लैले सुरु गरेका थिए। ग्राहक बढ्दै गएपछि एन्टिडोटका सञ्चालक मात्रै पाँच जना पुगेका छन्। जागिर गर्ने बेला बचाएको ५० हजार रुपैयाँ लगानी गरेर थापाले सुरु गरेको एन्टिडोटको धारणा भने डेढ वर्षअघि नै जन्मिएको थियो।
थापाले आफ्नै बैनीले ‘पार्टी वेयर’मा समस्या झेलेको देखेका थिए। त्यसैबाट उनमा यो नयाँ अवधारण जन्मिएको हो। आफ्ना अन्य साथी र सर्वसाधारणमाथि उनले अध्ययन पनि गरे र एन्टिडोट सञ्चालनमा ल्याए।
एन्टिडोटमा १८ देखि ३५ वर्ष उमेरसम्मकालाई कुर्ता, लेहेङ्गा, साडी र गाउनका १२० कलेक्सन छन्। भाडामा कपडा अर्डर एन्टिडोटको इन्स्टाग्राम वा फेसबुक पेजमा गएर पनि गर्न सकिन्छ।
सुरुमा भाडाको कपडा तीन दिनसम्म लैजान मिल्ने सुविधा दिएका सञ्चालकले काठमाडौँ बाहिरका ग्राहकलाई पनि लक्षित गरेर अहिले ६ दिन लम्बाएका छन्। भाडामा कपडा लग्दा ग्राहकलाई पनि फाइदा हुने गरेको सञ्चालक थापाको दाबी छ।
उनले भने, ‘यहाँबाट कपडा लैजाँदा कस्टमरलाई ८० प्रतिशत फाइदा छ। नेपाली मात्र नभई १० देखि १५ प्रतिशत विदेशी कस्टमर पनि आउने र आफूले कपडा प्रयोग गरेपछि नधोई स्टोरमा फिर्ता दिए हुन्छ। स्टोरमा ८ सय देखि १५ हजार रुपैँयासम्म पर्ने कपडा छन्।’
यहाँ कपडा भाडामा लिने सुविधा मात्रै छैन। अरुले पनि आफ्ना कपडा भाडामा दिन मिल्ने सुविधा छ।
उनले भने,‘तपाईले पनि प्रयोग गरेको कपडा भाडामा दिन सक्नुहुन्छ। त्यसको लागि पहिला तपाईले आफ्नो कपडाको फोटो पठाउनु पर्ने हुन्छ। यदि हाम्रो डिजाईनरलाई मन परेमा प्राईस फिक्सड गरेर तीन महिनाको कन्ट्र्याक्टबाट सम्झौता सुरु हुन्छ। तर कपडाको बिल अनिवार्य चाहिन्छ।’
एन्टिडोटमा भएको २० देखि ३० प्रतिशत लुगा डिजाईनरबाट र ७० देखि ८० प्रतिशत लुगा व्यक्तिबाट लिइएका हुन्।
अरुले लगाएको लुगाले स्वास्थ्यमा असर गर्नेमा पनि सञ्चालक सचेत छन्। त्यसकारण डर्माटोलोजिस्टसँगको सल्लाहमा केमिकल प्रयोग गरी ड्राई क्लिनिङ गरिन्छ। एन्टिडोटमा अहिलेसम्म कोही पनि ग्राहक आएर खाली हात फर्कनु परेको छैन।
उनले भने,‘आफूलाई मन परेको कपडाको साईज नमिले हाम्रो डिजाईनरले केही हदसम्म मिलाइदिनुहुन्छ।’
नयाँ व्यवसाय गर्दा जो कोहीलाई पनि सुरुमा डर लाग्छ। तर मेहनत गर्दै जाने हो भने त्यसको प्रतिफल पनि राम्रै हात पर्छ। त्यसको उदाहरण बनेका छन् एन्टिडोटका सञ्चालकहरु। यो वर्ष अझ नयाँ अवधारणासहित व्यवसाय विस्तार गर्ने उनीहरुको योजना छ।