Oct 17, 2021

शहर कुरुप बनाउने सामाग्री हटाउँदै सरकार

Dec 26 , 2019

काठमाडौं, १० पुस
देशैभरका शहरहरुलाई कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तार लगायतका सामाग्री सरकारले हटाउने भएको छ ।
गृहमन्त्रालयमा आज गृहमन्त्री रामबहादुर थापा‘बादल’को प्रमुख आतिथ्यतामा बसेको सरोकारवाला निकायहरुको बैठकले उक्त निर्णय गरेको हो ।
सरकारले काठमाडौँ महानगरपालिकाभित्र भोलि देखिनै चार ओटा समुह बनाएर होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्तेलेखन हटाउन सुरु गर्ने तथा अन्य स्थानिय तहको हकमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत निर्देशन दिई कारवाही अघि बढाउने निर्णय गरेको छ ।
यस्तै बैठकले अव्यस्थितरुपमा राखिएका टेलिफोन, केबल तथा ईन्टरनेट सेवाप्रदायकका तारहरु हटाउन समयसिमा तोकि सार्वजनिक सुचना जारी गर्ने र तोकिएको अवधिभित्र नहटाए त्यस्ता तारहरुलाई काटेर हटाउने निर्णय गरेको छ ।
बैठकमा गृहमन्त्री थापाले नागरिकको स्वास्थ्य र नगरको पर्यावरणीय सुन्दरतालाई मध्यनजर गर्दै नगरलाई कुरुप बनाउने गरी राखिएका त्यस्ता संरचनाहरु हटाईन लागेको बताउनुभयो ।
यस्तै सर्वोच्च अदालतको समेत यस सम्बन्धमा आदेश दिईसकेको बताउँदै गृहमन्त्री थापाले सो कादेश कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिका भित्र भोलिबाटनै त्यस्ता संरचना हटाउन सुरु गर्ने प्रतिवद्धता व्यक्तगर्नुभयो ।
गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले देशभरका यस्ता संरचना हटाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनको पूर्ण सहयोग रहने बताउनुभयो ।