Oct 24, 2021

भाडामा प्रयोग भएका निजी सवारी प्रहरी नियन्त्रणमा

Jan 15 , 2019

कानुनको उल्लंघन गर्दै भाडामा प्रयोग भएका रातो नम्बर प्लेटका सवारीलाई ट्राफिक प्रहरीले कारबाही सुरु गरेको छ । ‘पठाओ’ र ‘टुटल’का नाममा कानुनविपरित दुईपाङ्ग्रे सवारी (मोटरसाइकल र स्कुटर) भाडामा प्रयोग हुँदै आएका छन् । कानुनविपरित सञ्चालन भएका त्यस्ता सवारी नियन्त्रणमा लिन थालिएको ट्राफिक प्रहरीले जनाएको छ । बंगलादेशी कम्पनीले सञ्चालन गरेको पठाओ र टुटलले यस्तो अवैध कार्य गरिरहँदा यातायात व्यवस्था विभाग भने मौन छ । उता ट्राफिक प्रहरीले भने गैरकानुनी काम गरेको उजुरीका आधारमा भाडामा प्रयोग भएका मोटरसाइकललाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

“कुनै पनि व्यक्तिले कानुनविपरित सवारी प्रयोग गर्न पाउँदैन,” ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले भने, “अहिलेको नेपालको कानुनले निजी सवारी (रातो नम्बर प्लेट) भाडाको प्रयोजनमा प्रयोग गर्न नपाइने भएकाले त्यसरी भाडाका यात्रु बोक्ने सवारीलाई नियन्त्रणमा लिएर कानुनअनुसार कारबाही थालेका हौं ।” यात्रुको सहजताका लागि ठिकै देखिए पनि कानुनविपरित भएकाले भाडामा प्रयोग भएका निजी सवारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको पन्तको भनाइ छ । “त्यसलाई सहज बनाउन राज्यले कदम चाल्नु पर्ने हो,” उनले भने, “अहिलेको अवस्थामा ट्राफिक प्रहरीले रातो प्लेटका सवारी (दुईपाङ्ग्रे र चारपाङ्ग्रे) भाडामा प्रयोग भएको थाहा पाए वा उजुरी आए कारबाही गर्नैपर्छ ।” शनिबार साँझ दरबारमार्ग ट्राफिक प्रहरीले भाडामा प्रयोग भएको ३ वटा मोटरसाइकल नियन्त्रणमा लिएको र उनीहरूले भाडामा यात्रु बोकेको पाइएको दरबारमार्गका ट्राफिक प्रहरी निरिक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।

“रातो प्लेटको कारले पनि भाडामा यात्रु बोकेको पाइएकाले कानुनबमोजिम कारबाही गरेका छौं,” उनले भने, “दुईपाङ्ग्रे वा चारपाङ्ग्रे जुन सवारी भएपनि भाडामा यात्रु बोक्नका लागि रुट पर्मिट अनिवार्य हुुन्छ जुन राम्रो कानुनले रातो नम्बर प्लेटलाई दिन मिल्दैन ।” पठाओले एप्लिकेसनमार्फत दुईपाङ्ग्रे सवारी प्रयोगकर्ता र उपभोक्ताबीच मध्यस्थता गराइ भाडामा यात्रु बोक्दै आएको छ । नेपालको सवारी कानुनले निजी सवारीसाधन भाडाको प्रयोजनमा लगाउन पाउने परिकल्पना नगरेको यातायात व्यवस्था विभागका निर्देशक तथा सूचना अधिकारी गोकर्णप्रसाद उपाध्याय बताउँछन् । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ मा निजी प्रयोगको लागि दर्ताको प्रमाण पत्र प्राप्त सवारीलाई निजी सवारी भनिने छ ।

त्यस्तै उक्त दफाको उपदफा २ मा ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन’ भनी स्पष्ट रूपमा उल्लेख गरिएको छ । निजी सवारी भन्नाले रातो प्लेटमा सेतो अक्षर र अंक हुनु पर्नेछ भनि ऐनको अनुसूची २ को खण्ड ‘ग’मा लेखिएको छ ।यात्रुबाट आएको भाडा रकम दुईपाङ्ग्रे सवारी धनीलाई कम्पनीहरूले केही उपलब्ध गराउने र बाँकी रकम आफैंले राख्ने गरेका छन् । यसरी दुईपाङ्ग्रे सवारीमा भाडाको यात्रु बोक्दा दुर्घटनाको जोखिम धेरै हुन्छ । त्यस्तोमा दुर्घटना भए यात्रुको जोखिम कसले बहन गर्ने भन्ने प्रश्न समेत उठ्छ । निजी सवारीले भाडाको प्रयोजनमा गुडाउनै नपाउने विभागले एक अधिकारीले बताए । “भाडा कति हुने, यात्रु बोक्दा हुनसक्ने जोखिमको बहन लगायत धेरै कुरा सँगै जोडिएर आउँछ । सरकारले यस विषयमा समयमै उचित कदम चाल्नु पर्छ,” ती अधिकारीले भने ।  निजी सवारी पनि भाडाको प्रयोजनमा प्रयोग गर्ने हो भने भाडाका सवारी भनेर छुट्याइरहनु नपर्ने यातायात व्यवसायीहरूको भनाइ छ । निजी प्रयोजन र भाडाको प्रयोजन भनी नम्बर प्लेटमै प्रकृति छुट्याएर दिएपछि त्यही अनुसार सवारीको प्रयोग हुनुपर्ने व्यवसायीहरू बताउँछन् ।

Source: karobardaily