Sep 26, 2023

अब कोकाकोलामा नेपाली चिनी

Dec 20 , 2018

काठमाडौं : बहुराष्ट्रिय कम्पनी कोकाकोलाको पेय पदार्थ उत्पादक कम्पनी बोटलर्स नेपालले पहिलो पटक स्वदेशी उद्योगबाट उत्पादित चिनी आफ्नो उत्पादनमा प्रयोग गर्न थालेको छ।

पूर्वको सिराहामा संचालनमा रहेको हिमालय सुगर मिल्ससँग बोटलर्स नेपाल बालाजु र बोटलर्स तराई लिमिटेडले चिनी खरिद गर्न सुरु गरेको हो। कम्पनीले अहिलेसम्म तीन लटमा चिनी उठाइसकेको छ।

‘करिब २५ करोड रुपैयाँ हाराहारीको चिनी उठाइसकेको छ। अब यो क्रम निरन्तर रहन्छ। कोकले नेपालकै चिनी प्रयोग गर्ने बाटो खुलेको छ,’ हिमालयन सुगर मिल्सका प्रमुख शशिकान्त अग्रवालले भने, ‘नेपालको चिनी पनि उच्च गुणस्तरयुक्त छ भन्ने कुरा यसबाट प्रमाणितसमेत भएको छ।’

नेपालमा‌ संचालनमा आएको ३९ वर्षको अवधिमा पहिलो पटक बोटलर्स नेपालले स्वदेशी उद्योगसँग चिनी खरिद गरेको हो। यसअघि स्वदेशी चिनी उद्योगको चिनीले कोकाकोलाले तोकेको मापदण्ड पूरा गर्न नसकेको भन्दै बोटलर्सले तेस्रो मुलुकबाट चिनी आयात गर्दै आएको थियो। नेपालमा बोटलर्स नेपाल र बोटलर्स नेपाल तराई लिमिटेडले कोकाकोलाको उत्पादन गर्दै आएको छ।

कोकले नेपाली चिनी उठाउनुअघि भने निक्कै लामो प्रकृया पूरा गरेको छ। उसले अमेरिका, थाइल्यान्ड र भारतमा रहेको आफ्नो विशेशज्ञहरु प्रयोग गरेर हिमालयन सुगर मिल्सको चिनीको गुणस्तर मापन गरेको थियो। त्यसपछि मात्र बल्ल चिनी प्रयोग गर्न मिल्छ भनेर स्वीकृति लिएको थियो।

हिमालयन मिल्सले यो गुणस्तरको चिनी उत्पादन गरेको तीन वर्ष पुरा भइसकेको छ। ‘कोकले नेपाली चिनी उठाउनु भनेको धेरै ठूलो माइलस्टोन हो,’ अग्रवालले भने, ‘कोकले मागेजति चिनी उपलब्ध गराउन हामीलाई समस्या छैन।’

एमएस र एभरेष्ट समूहको संयुक्त लगानीमा संचालित हिमालय सुगर मिल्स रसायन अर्थात् गन्धक र चुन (सल्फर एण्ड लाइम) रहित चिनी उत्पादन गर्ने पहिलो कम्पनी हो। दैनिक दुई हजार पाँच सय मेट्रिक टन उखू पेल्ने यो उद्योगको दैनिक चिनी उत्पादन क्षमता दुई सय पचास मेट्रिक टन छ।

बोटलर्सले कोकाकोलाको पेय पदार्थ प्याकिङ गर्न पेट बोतल (प्लाष्टिक बोतल) भने स्वदेशी उद्योगसँगै खरिद गरिरहेको छ। बोटलर्सलाई  हेटौंडामा अवस्थित एमएम प्लाष्टिक उद्योगले पेट बोतल आपूर्ति गर्दै आएको छ।

चिनी उत्पादक संघका महासचिव राजेश केडियाले पेप्सीलगायतका अन्य पेय पदार्थ उत्पादक बहुराष्ट्रिय कम्पनीले पहिले नै स्वदेशमै उत्पादित चिनी प्रयोग गरे पनि कोकाकोलाले पहिलो पटक यहाँको चिनी खरिद गरेको बताए।

अर्थ मन्त्रालयले गत वैसाख ४ गतेदेखि चिनीको आयातमा लाग्दै आएको भन्सार महशुलमा सय प्रतिशतले वृद्धि गर्दै १५ बाट ३० प्रतिशत पुर्‍याएको छ।

आयात महशुलमा अप्रत्यासित रुपमा वृद्धिविरुद्ध बोटलर्स नेपाल तराई लिमिटेडले अदालतको ढोका ढक्ढक्याएपछि सर्वोच्चले वैसाख ४ गतेअघि नै आयातको सम्झौता भएको चिनी पुरानै महशुल दरमा आयात गर्न दिन सरकारलाई निर्देशन जारी गरेको थियो।

स्वदेशी चिनी उद्योगको उत्पादन गोदाममै थन्किएको निष्कर्ष सहित सरकारले अहिले वाणिज्य विभागमार्फत् चिनीको आयातमा अंकुश लगाएपछि चिनी आयात ठप्प छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!