Sep 26, 2023

कारबाही गर्नुपर्ने प्रहरी नै कोचाकोच गाडीमा झुन्डिएर

Nov 14 , 2018

शान्तबहादुर सिंह प्रहरी जवान हुन्। उनी दैलेखको चुप्रा चेकपोस्टमा ड्युटी गर्छन्। त्यहाँ उनको काम गाडीलाई सिट क्षमताभन्दा बढी यात्रु नराख्नू भनेर सजग गराउनु र ‘इन्ट्री’ गरेर गन्तव्यतिर पठाउनु हो। तिनै प्रहरी जवान दसैं मानेर घरबाट फर्किंदा बसको ढोकामा झुन्डिएर आउनुपर्यो।

जाजरकोटबाट दैलेखको चुप्रासम्म आउन उनी बेस्तडा बजारबाट गाढी चढेका थिए। सवारी चापले गाडीको कोलियामा समेत उभिने ठाउँ नभएपछि झुन्डिएर आउन बाध्य भए। ‘क्षमताभन्दा धेरै यात्रु राख्ने गाडीलाई कारबाही गर्नु मेरो कर्तव्य हो, अहिले म यात्रु भएको छु,’ उनले भने, ‘काम एउटा गर्नुपर्छ, व्यवहार अर्कै।’ उनी मात्र होइन, गाडीमा सिट क्षमताभन्दा झन्डै तेब्बर यात्रु थिए। उनीहरूले झुन्डिएर र बसको कोलियामा उभिएर कष्टपूर्ण यात्रा गरे।

यो सडक खण्डमा कम सवारी चल्छन्, जसको कारण यहाँका यातायात व्यवसायी समिति हुन्।

सुर्खेतबाट दैलेखको बेस्तडा र जाजरकोटको सुयाडासम्म मध्यपश्चिम यातायात व्यवसायी समिति र काँक्रेबिहार यातायात व्यवसायी संघका गाडी मात्र चल्छन्। त्यो पनि आलोपालो। काँक्रेबिहारको गाडी गएको दिन मध्यपश्चिमको गाडी जाँदैन। मध्यपश्चिमको गएको दिन काँक्रेबिहारको जाँदैन।

यसले यात्रु हुँदा पनि सवारी साधन कम गुड्छन्। गाडीमा सिट क्षमताभन्दा धेरैले जोखिमपूर्ण यात्रा गर्नुपर्छ। उक्त सडक खण्डमा प्रायः उभिएर यात्रा गर्नु परेको जुनिचाँदे–२, जाजरकोटका लालबहादुर शाहीले बताए।

‘यात्रु पाइँदैन भनेर समितिले आलोपालो बस पठाउँछ, सिटमा बसेर जाने मौका कहिलेकाहीँ मात्र पाइन्छ,’ उनले भने, ‘सिटमा बसेकाभन्दा उठेका यात्रु धेरै देखिन्छन्, कतै भार थेग्न नसकेर पल्टिन्छ कि भन्ने डर लागिरहन्छ।’

काँक्रेबिहार यातायाय व्यवसायी संघका सचिव रमेश सापकोटाले भने सिजनमा बाहेक सधैंजसो गाडी खाली हुने गरेकाले पालैपालो पठाउने गरेको बताए।

‘हामी दैनिक दुइटा गाडी पठाउँछौं, एउटा बेस्तडासम्म अर्को सुयाडासम्म,’ सापकोटाले भने, ‘पहिले दुवै समितिले त्यहाँ दुई/दुई गाडी पठाउँथे, ती गाडी कहिले उताबाट कहिले यताबाट खाली आउने गरे, त्यसपछि पालो गरेका हौं।’

उनले यातायात क्षेत्रमा काम गर्ने कम्पनीहरू नाफामुखी मात्र भएको आरोप लगाए।

‘सुर्खेतमा १० वटा यातायात कम्पनी छन्। उनीहरूले पनि त्यो बाटोमा आफ्ना गाडी पठाउनुपर्यो,’ उनले भने, ‘कम्पनीले सजिलो बाटोमा मात्र गाडी चलाएर नाफा कमाउने, अप्ठ्यारो र कच्ची बाटोमा मध्य र काँक्रेले मात्र सेवा दिनुपर्ने? जनताका लागि स्थापना भएको हो भने सबैले जहाँ पनि गाडी पठाउनुपर्छ ।’

यता, देउती नागरिक यातायात प्रालिका अध्यक्ष कमल खड्काले बाटोको अवस्था हेरेर आफूहरूले गाडी सञ्चालन गरिरहेको बताएका छन्। ‘हामीले बाटो र यात्रुको माग हेरेर गाडी चलाएका छौं,’ अध्यक्ष खड्काले भने, ‘उताकै कोही गाडी हाम्रो समितिमा दर्ता भए र यात्रुको माग भए हामी अवस्थाअनुसार गाडी सञ्चालन गर्न सक्छौं।’

Facebook Notice for EU! You need to login to view and post FB Comments!