सामान्य स्लाइन बाहेक अन्य कुनै उपचार नगर्ने डा. केसीको अडान

चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै २१ दिनदेखि अनशनरत डा.गोविन्द केसीले काठमाडौंमा समेत सरकारी उपचार लिन अस्वीकार गर्नुभएको छ । २० दिनसम्म जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेका डा. केसीलाई सरकारले हिजो बल प्रयोग गरी काठमाडौं ल्याएको थियो । त्रिवि शिक्षण अस्पतालमा आफ्नो १५ औँ सत्याग्रह जारी राखेका डा. केसीले सामान्य स्लाइन बाहेक कुनै पनि औषधी प्रयोग नगर्ने अडान लिनुभएको छ । सरकारले उपचारकै लागि काठमाण्डौं ल्याउन जुम्लामा गरेको ज्यादती नागरिक स्वतन्त्रता विरोधी भएको भन्दै कुनै पनि किसिमको औषधी–उपचार र स्वास्थ्य जाँचसमेत नगर्ने अडान केसीले लिनुभएको हो । विगतमा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नगरेसम्म अनसन नछाड्ने डा. केसीको अडान छ । डा. केसीलाई काठमाडौं ल्याउन खोज्दा जुम्लामा झडप समेत भएको थियो । झडपमा प्रहरी जवानको मृत्यु भएको, अस्पतालमै फायरिङ सुरु गर्न लागेको र आगलागी समेत गर्न लागिएको अफवाह फैलाई डा केसीलाई काठमाडौं आउन बाध्य बनाइएको डा केसीका समर्थकहरुले आरोप लगाएका छन् । काठमाण्डौं ल्याएलगत्तै डा केसीले विज्ञप्ति जारी गरी अनसनमा भएको प्रहरी हस्तक्षेपको भत्र्सना गर्नुभएको थियो । सरकारले अस्पताललाई युद्धभूमि जस्तो बनाई अमानवीय रूपमा सत्याग्रहीको इच्छा विपरीत अपहरण शैलीमा जुम्लाबाट काठमाडौं ल्याएको आरोप लगाउँदै उहाँले ज्यादतीमा संलग्नलाई कारबाहीको माग समेत गर्नुभएको छ । काठमाडौंमा मात्र वार्ता हुने अडानमा रहेको सरकारले डा. केसी काठमाडौं आएपनि आज औपचारिक वार्ताको सुरसार भने गरेको छैन ।