Apr 02, 2023

पेट्रोल र डिजेलकाे मूल्य घट्यो

Jun 18 , 2018

नेपाल आयल निगमले आइतबार राती १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ।

निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार प्रति लिटर पेट्रोलमा ३ तथा डिजेल र मट्टितेलमा २ रुपैयाँ घटेको हो। नयाँ मूल्य अनुसार पेट्रोललाई प्रति लिटर ११० तथा डिजेल र मट्टितेललाई ९३ रुपैयाँ तिर्नुपर्नेछ।

यी बाहेक निगमले हवाई इन्धनको मूल्य भने समायोजन गरेको छैन्। नयाँ मूल्यपश्चात निगमको १५ दिनको घाटा ७ करोड ८६ लाख हुने निगमले जनाएको छ।

साढे तीन महिनामा पहिलो पटक घट्यो इन्धनको मूल्य

निगमले पछिल्लो साढे तीन महिनायता पहिलो पटक इन्धनको मूल्य घटाएको छ। यसअघि पाँच पटक लगातार उकालो लागेको इन्धनको मूल्य साढे तीन महिनामा पहिलो पटक घटेको हो।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएकाले नेपालमा पनि इन्धनको भाउ घटेको हो। नेपालले भारतिय आयल कर्पोरेसनबाट प्रशोधित इन्धन खरिद गर्दै आएको छ।

गत चैत १९ देखि पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लाग्दै गएको थियो। चैत १९ मा प्रति लिटर पेट्रोलको मूल्य १०५ तथा मट्टितेल र डिजेलको ८५ रुपैयाँ थियो।

त्यसको करिब १५ दिनपछि पेट्रोलमा एक र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ प्रति लिटरको दरले मूल्य बढ्यो। गत बैशाख ३ मा पेट्रोलको मूल्य १०६ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टितेलको प्रतिलिटर ८७ रुपैयाँ कायम थियो।

त्यसको १५ दिनपछि निगमले पेट्रोलमा २ तथा डिजेल र मट्टितेलमा ३ रुपैंयाँको वृद्धि गर्दै पेट्रोलको १०८ रुपैयाँ र मट्टितेल र डिजेलको ९० रुपैयाँ प्रतिलिटर मूल्य कायम गरेको थियो।

तीन चोटी लगातार बढेको इन्धनको मूल्य त्यतीमै सिमित भएन। गत जेठ २ गते तीनै पदार्थको मूल्य थप दुई रुपैयाँले वृद्धि भयो। यससँगै प्रति लिटर पेट्रोलको ११० रुपैयाँ तथा मट्टितेल र डिजेलको ९२ रुपैयाँ कायम भएको थियो।

पछिल्लो पटक जेठ १९ मा इन्धनको मूल्य पुन उकालो लागेको थियो। यसक्रममा प्रति लिटर पेट्रोलको ११३ तथा डिजल र मट्टितेलको ९५ रूपैयाँ पुगेको थियो।

इन्धनको मूल्य लगातार वृद्धिहुँदै गएपछि निगमको चौतर्फी आलोचना हुँदै आएको थियो। यसकासाथै विभिन्न विद्यार्थी संगठनहरुले मूल्य वृद्धि फिर्ताको माग राख्दै आन्दोलन गर्दै आएका थिए।

अन्तराष्ट्रिय बजारको भाउ विश्लेषण गरेर आइओसीले हरेक १५ दिनको अन्तरमा निगमलाई नयाँ मूल्य सुची पठाउँछ। यसकै आधारमा निगमले हरेक १५­ १५ दिनमा तेलको मूल्य समायोजन गर्दै आएको छ।