Sep 19, 2023

जब गृहमन्त्री र बन मन्त्री सवारीको छड्के चेकिङमा निस्किए

Jun 05 , 2018

सरकारले उपत्यका सवारी साधनबाट हुने प्रदूषण मापन तथा नियमनमा अब कडाइ गर्ने भएको छ।

गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले आइतबार बिहान ७ बजे थापाथली सडकमा पुगेर प्रदूषण मापन गर्ने यन्त्रसहित छड्के जाँचमा निस्किए। गाउन र मास्क लगाएर सरकारी अधिकरीहरूसहित सवारी जाँचमा खटिएका उनीहरूले करिब १० वटा सवारीलाई कारबाही गरे। १५ वटा जति सवारी चेक गरेका उनीहरूले अधिकांश डिजेल गाडिबाट निस्किएको धुँवामा प्रदुषणको मात्रा बढी भएको भन्दै कारबाही गरे।

गृहमन्त्री थापाले स्वस्थ वातावरण भएमात्र नागरिक स्वस्थ रहने भन्दै यसमा सबैको साथ र सहयोग अपरिहार्य रहेको बताए। सवारीसाधनले प्रदूषण मापदण्ड पालना गर्नु अनिवार्य रहेको भन्दै यसको नियमित चेकजाँच आवश्यक रहेको गृहमन्त्री थापाले बताए।

उनले धुलो र प्रदूषण बढ्नुमा भ्रष्टचार पनि जोडिएको भन्दै यसलाई निस्तेज पारिने बताए। वातावरणमन्त्री बस्नेतले वातावरण दिवसको अवसर पारेर सप्ताहव्यापी कार्यक्रमको आयोजनाअन्तर्गत आजको कार्यक्रम गरिएको बताए।

उनले वातावरण दिवसको अवसर पारेर प्रधानमन्त्रीकै सहभागितामा यही जेठ २२ गते स्वच्छ नेपाल महाभियान शुरु गर्न लागिएको जानकारी दिए।

प्रदूषण नियन्त्रण, फोहर व्यवस्थापन र हरियाली प्रवद्र्धनलाई एकीकृत गरेर महाभियान शुरु गर्न लागेको उनको भनाइ छ। यो अभियानमा प्रदेश र स्थानीय सरकार, निजी क्षेत्र र यो क्षेत्रमा क्रियाशील संघसंस्थासँग पनि सहकार्य गरिने उनले बताए।

हावामा हुने धूलोको मात्रामा सावरी साधनले निकाल्ने धूलोको ३८ प्रतिशत हिस्सा छ। सावारी साधनले २ दशमलव ५ पिएम (पार्टिकुलर म्याटर) को धूलो उत्पादन गर्छन्। मानव स्वास्थ्यका दृष्टिले सम्वेदनशील सानो धूलोका कण निकाल्ने भएकोले सरकारले प्रदूषण मापनमा कडाइ गर्न लागेको छ। मन्त्रीसहितको टोलीले कारबाही गरेका सवारीलाई नियमअनुसार १ हजार रूपैयाँ जरिवना गरि प्रदूषण पास भएपछि मात्र अनुमति दिने बताएको छ।