Sep 26, 2023

भ्यान गगलाई सृष्टिको सम्मान

May 25 , 2018

काठमाडौं –  नेदरल्यान्डमा जन्मिएका महान् चित्रकार भिन्सेन्ट भ्यान गगलाई समर्पण गर्दै फिल्म ‘रोमियो एन्ड मुना’ले गीत सार्वजनिक गरेको छ। फिल्मले भ्यान गगका चर्चित पेन्टिङलाई पृष्ठभूमिमा राख्दै सुकमित गुरुङले लगभग १५ वर्षअघि गाएको गीत ‘पल पल’लाई छायांकन गरेको हो। गीतमा सृष्टि श्रेष्ठ र विनय श्रेष्ठले अभिनय गरेका छन्।

भिएफक्सको प्रयोग गरेर बनाइएको गीतमा भ्यान  गगका ‘मिड्डे रेस्ट आफ्टर मिलेट’ ‘दि स्टारी नाइट’, ‘ब्रिजेज एक्रोस दि सेने’, ‘बेड रुम इन दि येल्लो हाउस’आदि पेन्टिङलाई पृष्ठभूमिको रुपमा प्रयोग गरिएको छ। गीतका लागि प्रयोग भएका पेन्टिङ सागर शाह र सन्तोष बिष्टले कोरेका हुन्।

फिल्मका निर्देशक नरेशकुमार केसीले फिल्मको चरित्र अनुसार भ्यान गगका पेन्टिङ प्रयोग गरिएको बताए। ‘फिल्ममा सृष्टिको चरित्र भ्यान गगको फ्यानको रुपमा सिर्जना गरिएको छ। उसैको कल्पनालाई गीतमा रुपान्तरण गरिएको हो। सुकमित दिदीको गीत यसमा उपयुक्त हुन्छ भन्ने लागेर   छायांकन गरेका हौं,’ केसीले भने, ‘गीतमा दुई सटबाहेक बाँकी सबै भिएफएक्स गरिएको छ। दर्शकलाई नयाँ स्वाद पस्कने प्रयास हो।’

कार्यक्रममा उपस्थित सुकमित गुरुङ कुनै समय आफूले ‘स्लो’ भनेर हेलाँ गरेको गीतले यति राम्रो छायांकन पाउँदा खुशी लागेको बताइन्। ‘मलाई त यो गीतले नयाँ जुनी पाए जस्तै लागेको छ। यसका लागि सम्पूर्ण निर्माण टिमलाई धन्यवाद छ। गीतको छायांकन एकदमै चित्त बुझ्दो छ। फिल्म पनि त्यस्तै होस्,’ गुरुङले भनिन्।

अघिल्लो साल फागुनमा प्रदर्शन हुने भनिएको फिल्म अब फिल्म साउन ११ गतेदेखि प्रदर्शनमा आउने छ। भि मोशन पिक्चर्स र केएस प्रोडक्सनको संयुक्त प्रस्तुति रहेको फिल्ममा विनय र सृष्टिसँगै सुष्मा कार्की, प्रज्जवल सुजल गिरी, सुरक्षा पन्तको पनि अभिनय छ। निर्देशक नरेशकुमार केसीको लेखन रहेको फिल्मलाई प्रशन्न गोपाली, राम शर्मा र कविन शाक्य मिलेर निर्माण गरेका हुन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!