Sep 28, 2023

चीनले थाल्यो केरूङ-काठमाडौं रेलमार्गको अध्ययन

May 22 , 2018

चीनले केरूङ-काठमाडौं रेलमार्गको सम्भाव्यताको अध्ययन थालेको छ।

रेलमार्गको अध्ययन गर्न चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटका ८ अधिकारी सोमबार काठमाडौं आएका थिए।

रेलवे विभागसँग समन्वय गरी उनीहरूले मंगलबारदेखि काम सुरु गरेका छन्।

‘अध्ययन गर्न केरूङसम्म पुग्छौं, आज ठाउँ-ठाउँमा अध्ययन गर्दैछौं,’ अध्ययन टोली सहभागी विभागका सूचना अधिकारी प्रकाशभक्त उपाध्यायले भने।

नेपाल र चीनका अधिकारीबीच वैशाख दोस्रो साता बेङजिङमा यो रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो।

चिनियाँ पक्षले सम्भाव्यता अध्ययन गर्न चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटलाई नियुक्त गरेको थियो।

‘अध्ययनको सबै खर्च चिनियाँ पक्षले नै ब्यहोर्छ,’ उपाध्यायले भने, ‘अगस्ट (भदौ १५)सम्ममा कम्पनीले प्रतिवेदन दिनेछ,’ उपाध्यायले भने।

संसारका जटिलमध्येको एक भएकाले यो रेलमार्गमा धेरै अध्ययन गर्नु पर्ने चिनियाँ पक्षको बुझाइ छ।

‘यो रेलमार्ग विश्वका जटिल रेलमार्गमा पर्ने भएकाले धेरै अध्ययन जरूरी हुने उहाँहरूको भनाइ छ,’ उपाध्यायले भने, ‘अगस्टमा यो अध्ययन प्रतिवेदन आएपछि सम्भाव्यता अध्ययनको प्रक्रिया सुरू हुन्छ।’

चिनियाँ पक्षले यसअघि  पनि यो रेलमार्गको अध्ययन गरेको थियो। त्यसको प्रतिवेदन विभागले पाएको छ।

गत कात्तिक तेस्रो साता चाइना रेल्वे एडमिनिस्ट्रेसनका उपप्रमुख चेङ चियन नेतृत्वको ३३ सदस्यीय टोलीले केरूङ–काठमाडौं र पोखरा–लुम्बिनी रेलमार्ग बनाउन स्थलगत अध्ययन गरेको थियो।

Facebook Notice for EU! You need to login to view and post FB Comments!