Mar 31, 2023

मासिक १५ सयले खर्च चलाउँथे बीपी

May 20 , 2018

२०१७ साल पुस १ गते । त्यो दिन पनि उनी सधैंझैँ एमएको क्लासमा थिए । त्रिभुवन युनिभर्सिटी त्रिपुरेश्वरमै थियो । त्यहीँ एमए पढाइन्थ्यो । उनी अंग्रेजी विषय लिएर एमए गर्दैथिए र साँझको समय बीएल पढ्दै थिए ।  कक्षा सकाएर उनले तरुण दलको सम्मेलनको रौनक हेर्न जाने मनस्थिति बनाए । कक्षाबाट निस्किएपछि उनी नजिकै रहेको प्रधानमन्त्रीको क्वाटरमा गए । उनी देख्छन्, क्वाटरलाई त सैनिकले घेरेका छन् ।

तत्कालिन राजा महेन्द्रले सत्ता आफ्नो हातमा लिएको उनले त्यहीँ थाहा पाए । केही समयपछि त रेडियोबाट तत्कालिन राजा महेन्द्रले सत्ता आफ्नो हातमा लिएको घोषणा गरे । प्रधानमन्त्री बीपी कोइरालासहित सबै थुनिए ।

त्यसबेला उनी अर्थात् रेखबहादुर भट्टराई (८४) जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाका सहायक निजी सचिव थिए । निजी सचिवालयमा उनीभन्दा माथि कुमारमणि दीक्षित, केशवराज पिँडाली र भुवनदत्त तिमिल्सिना थिए ।

केही दिनअघि चाबहिल महाँकालस्थित आफ्नो निवासमा बाख्रखरीकर्मीसँग कुरा गर्दै भट्टराईले भने, “यो घटनापछि प्रमुख निजी सचिव कुमारमणि सरकारी जागिरे भएकोले आफ्नो पदमै फिर्ता गए । केशवराज र भुवनदत्त पक्राउ परे । म भने राजनीतिक कार्यकर्ता नभएकोले पक्राउ परिन । तर मेरो जागिर छुट्यो । म ढाक्रे भएँ ।”

यति भनेर उनी मन फुकाएर हाँसे ।

सायद त्यसबेला उनी पनि पक्राउ पर्थे होलान्, तर काठमाडौंका मेजिष्ट्रेट दुर्गादत्त उपाध्याय बस्ने क्वाटरमै उनी पनि परिवारसहित बस्थे । दुर्गादत्तसँग भेटघाट र गफ गर्न काठमाडौंका कमिश्नर विष्णुमणि आचार्य त्यहाँ आइरहन्थे । सायद उनलाई थाहा थियो, भट्टराई पार्टीका कार्यकर्ता होइनन् । विशुद्ध कर्मचारी हुन् । त्यसैले उनी पक्राउ पर्नबाट बचेका थिए ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालासँग नजिकको सम्बन्ध राख्ने रेखबहादुर भट्टराईको पुख्र्यौली थलो भोजपुर हो । १९८० मा उनका हजुरबुबा मोरङ झरे । त्यसपछि उनीहरु मोरङका भए ।
तीन दाजुभाइमध्ये माहिला रेखबहादुरको बाल्यकाल मोरङमै बित्यो । उनी पढ्दै पनि गए । तत्कालिन अवस्थामा मोरङको रंगेली, विराटनगर विकासको खुडकिलो तिव्रगतिमा चढ्दै थियो । त्यही विराटनगरमा उनले स्कुले शिक्षा लिए ।
तर उनले २०११ सालमा मात्रै एसएलसी पास गरे । त्यस भन्दा अगाडि उनी काम गर्दै पढ्दै थिए ।

२००७ सालको क्रान्तिले विराटनगरलाई रंगमगाएको थियो । क्रान्तिको दौरानमा मोरङमा चौध दिनसम्म लडाइँ भयो । त्यसपछि मोरङका बडाहाकिम उत्तम विक्रमले ‘सरेन्डर’ गरे ।

रेखबहादुर पुरानो सम्झना यसरी उधिन्छन्, “उनले सरेन्डर गरेपछि विराटनगरमा जनसरकारको निर्माण भयो । सरकार प्रमुख थिए– केशवप्रसाद कोइराला, बीपीका भाइ । त्यसबेला म सोह्र वर्षको थिएँ । हुनत मैले एसएलसी पास गरेको थिइन । तर पनि मैले त्यो सरकारको अर्थ मन्त्रालयमा काम पाएँ ।”

त्यसअघि रेखबहादुरका एक परिचित माथेमाजीले उनलाई नेपाल बैंकमा जागिर लगाइदिएका थिए । माथेमा नेपाल बैंकका म्यानेजर थिए । तर एकदिन उनी माथेमाजीसँगै जनसरकारको हेडक्वाटर पुगे । त्यहाँ सरकार प्रमुख केशव कोइरालाका निकटतम सहयोगी व्यक्ति थिए सुवर्णबहादुर अमात्य, जसले रेखबहादुरलाई चिन्दथे ।

रेखबहादुर भन्छन्, “मलाई देखेपछि उनले तिमी बैंकमा होइन, हामीसँग  काम गर्नुपर्छ भने र  मैले अर्थ मन्त्रालयमा काम गर्न थालेँ । अर्थमन्त्री थिए, कांग्रेसका नेता शिवहरि ढुंगाना ।”

केही महिनापछि जनसरकार सरकार विघटन भयो । मोरङमा भूपालमान सिंह बडाहाकिम भएर आए । भट्टराई कामविहीन भए । त्यसैबेला भाइको उपचारका लागि उनी महोत्तरीको भिट्टामोड गए, भाइलाई लिँदै । केही महिना त्यतै बित्यो उनको ।
उनी विराटनगर फर्किँदा मोरङ गोश्वाराले पूर्ण आकार लिइसकेको थियो ।  ठाउँ ठाउँमा विभिन्न व्यक्तिहरुको नियुक्ति भइसकेको थियो । कुनै ठाउँ खाली थिएन । यसैकारण उनले काम पाएनन् ।

उनी भन्छन्, “तर गजबको संयोग भन्नुपर्छ, त्यसबेला सुवर्ण अमात्यजी गोश्वारामै हुनुहुन्थ्यो । बडाहाकिम भुपालमान सिंहसँग मेरो पिताजीले सँगै काम गर्नुभएकोले उहाँहरुबीच पनि सम्वन्ध राम्रो थियो । उता दुर्गादत्त उपाध्याय सहायक बडाहाकिम हुनुहुन्थ्यो । त्यसैले मैले एसएलसी पास नगरे पनि मेरो योग्यता अनुसारको पद ‘लेसी’ अर्थात् ‘लेखनदास सिपाही’ पदमा मलाई नियुक्त गरियो । यो अफिसमै बसेर काम गर्नुपर्ने जागिर थियो । यसरी जागिर खाएको धेरै पछिमात्रै मैले एसएलसी पास गरेँ । काम गर्दै पढ्दै गरेकोले नै पढाइ ढिलो भएको हो ।”

काम गर्दै, पढ्दै जाने क्रममा रेखबहादुर भट्टराईले मोरङ इन्टरमिडिएट कलेजमा आइए ज्वाइन गरे । उनीहरु त्यो कलेजको संस्थापक विद्यार्थी भएको भट्टराई बताउँछन् । अहिले उक्त कलेजको नाम महेन्द्र मोरङ्ग कलेज भएको छ ।

बीपी कोइरालासँगको पहिलो भेट यसरी सम्झिन्छन् बीपीका निजी सचिव भएर काम गरेका रेखबहादुर । “सम्भवतः ०११ सालतिर उहाँसँग मेरो पहिलो भेट भएको हो । उहाँ जापानबाट भरखरै फर्कनु भएको थियो । नेपाली कांग्रेसका एक जना केन्द्रीय सदस्य गोविन्दप्रसाद सिंह विराटनगर आउनु भएको थियो । उहाँ विराटनगर आउँदा हामी कहाँ नै बस्नु हुन्थ्यो । एकदिन उहाँले जाउँ हिँड, बीपी कोइरालासित चिनापर्ची गराइदिन्छु भन्नुभयो र म बीपीको घरमा पुगे पहिलो पटक । कोइराला निवासको आफ्नै बेडरुममा उहाँले हामीसँग भेट गर्नुभयो । आफ्ना कुरा सुनाउनुभयो ।”

बीपी कोइरालासँगको पहिलो भेटले भट्टराईलाई बीपीप्रति आकर्षित गरेको थियो । उनको दोस्रो भेट भने बीपीसँग पटनामा भयो । भट्टराई आइएको किताब किन्न पटना पुगेका थिए र त्यसबेला पटनामा एमबीबीएस पढ्दै गरेका सच्चेकुमार पहारीको कोठामा नै बसेका थिए ।

पटनामा आफ्नो परिचित कोही नभएकोले उनले सच्चेकुमार पहारीसँग भेट्ने गरी चिठी लिएर गएका थिए । त्यसैले उनीकहाँ बसे ।

बीपी त्यो बेला पटनामै रहेछन् । सच्चेकुमारले बीपी पटनामा भएको भन्दै भेट्न जाने हो भनेर सोधे । उनले पनि खुसीसाथ हुन्छ भने । दुबै बीपीलाई भेट्न बीपी बसेको ठाउँ पुगे ।

रेखबहादुर त्यो क्षण सम्झन्छन्, “त्यसबेला बीपीले मलाई विराटनगरका बारेमा धेरै कुरा सोध्नुभयो । मलाई उहाँले गिरिजाप्रसाद मोरङ कांग्रेसको सभापति भएको विषयमा पनि सोध्नु भयो । किनभने त्यसबेला विश्वबन्धु थापालाई सभापति दिइनुपर्ने चर्चा चलेको रहेछ । तर बीपीले गिरिजा बाबुलाई सभापति बनाउनु भएको थियो । यसै विषयमा मलाई बीपीले सोध्नुभयो, “गिरिजाको काम गराई कस्तो छ ? पार्टीको हितमा काम भइरहेको छ कि छैन ?” यी यस्ता विषयमा बीपीले मलाई सोधिरहनु भयो र मैले आफूले जानेको कुरा बताएँ पनि ।”

उनि अगाडि भन्छन्, “त्यसबेला गिरिजाबाबुको खटाई आज पनि मेरो सम्झनामा ताजै छ । गिरिजा बाबु दैनिक ७५–८० माइल साइकलमा यात्रा गर्नुहुन्थ्यो । गाउँ–गाउँ जानुहुन्थ्यो । कांग्रेस पार्टीको लागि उहाँको खटाई देखेर सबै छक्क पर्दथे । त्यसैले मैले जे देखेको थिएँ त्यहि बीपीलाई सुनाएँ । हुनत बीपीलाई लाग्दो हो, मैले आफ्नै भाइलाई जिल्ला सभापति बनाइदिएँ । अरुले भाइलाई सभापति बनाएकोमा कुरो पो काटेका छन् कि ? यो शंका उठ्नु स्वभाविक थियो । उहाँ यसकै निवारण चाहनुहुन्थ्यो सायद । त्यसैले मसँग मोरङ कांग्रेसको कुरा सोध्नु भएको हुनसक्छ ।”

यसरी काम गर्दै पढ्दै रेखबहादुर भट्टराईले बीए पास गरे, विराटनगरबाटै । बीए पास गर्दासम्म उनी त्यही क्लर्कको पदमा कार्यरत थिए । तथापि, पोष्ट सानो भएपनि उनी हरेक किसिमको काम गरिरहेका थिए । उनमा काम गर्ने ऊर्जा अथाह थियो । उनी मेसो मिलाएर शैली पुर्याएर काम गर्थे । त्यसैले उनलाई सबैले रुचाउँथे पनि ।

बीए पास गरेपछि उनलाई लाग्यो– अब कति क्लर्कको जागिर खानु । अब अर्को कुनै काम गर्नुपर्छ । उनलाई त्यो जागिर खान मन लागिरहेको थिएन । उनी अरु केही काम गर्ने विषयमा विचारिँदै थिए ।

त्यसबेलासम्म कांग्रेसको जननिर्वाचित सरकार बनिसकेको थियो । बीपी कोइराला प्रधानमन्त्री भइसकेका थिए । मोरङ गोश्वारामा हरिप्रसाद गिरी बडाहाकिम भएर आएका थिए ।

गिरी बडाहाकिम भएर आएको केही समयपछि उनले रेखबहादुरलाई गोश्वाराको कामले काठमाडौं हिँड्न भने । उनी पनि बडाहाकिमसँग काठमाडौं आए । बडाहाकिमले मोरङ गोश्वारामा विद्यमान समस्याहरुका बारेमा प्रधानमन्त्रीलाई बताए । ती समस्याको समाधान गरिदिनका लागि आग्रह गरे । भट्टराईले आदेश अनुरुपको काम गर्दैगए ।

रेखबहादुर भन्छन्, “तर मेरो भाग्य हेर्नुस्, प्रधानमन्त्रीको निजी सचिवालयमा काम गर्ने एक जना सुब्बाको देहान्त भएको रहेछ । उनले गर्दै आएको काम गर्न अरु कोही मानिस खोजिँदै थियो । त्यसैबेला विराटनगरमा पहिले अर्थमन्त्री भएर काम गरेका शिवहरि ढुंगाना प्रधानमन्त्री कार्यालयमा भेट भए । उनले मलाई देख्नेबित्तिक्कै भने, ‘ए रेखबहादुर, तिमी आएका रहेछौ । लु तिमीले अब यहाँ निजी सचिवालयमा सुब्बा भएर काम गर्ने ।” मलाई पनि ढुंगो खोज्दा देउतै मिलेजस्तो भयो । तारिणी बाबुले पनि यो कामका लागि स्वीकृति दिए । र, मैले विराटनगर गोश्वाराबाट राजीनामा दिएर आएँ । अनि प्रधानमन्त्रीको निजी सचिवालयमा काम गर्नेगरि नियुक्ति लिएँ ।”

यसरी २०१६ साल असारदेखि उनले प्रधानमन्त्रीको निजी सचिवालयमा काम गर्न थाले । यसले गर्दा प्रधानमन्त्रीसँगको सम्वन्धमा निकटता आउनु स्वाभाविक थियो । प्रधानमन्त्रीको निजी सचिवालयले गर्नुपर्ने कामहरुमा उनले ध्यान दिँदै गएँ । पहिले प्रमुख निजी सचिव तारिणी बाबु थिए । पछि त्यहाँ प्रधानमन्त्रीको प्रमुख निजी सचिव भएर कुमारमणि दीक्षित आए ।

कार्यालयका कामका अतिरिक्त भट्टराईको अर्को काम थियो– मोरङ र विराटनगरबाट आउने आम नागरिकहरुसित प्रधानमन्त्री बीपीको सम्पर्क गराउने । उनी विराटनगरकै भएकोले पनि उनलाई यो जिम्मेबारी दिइएको थियो । तारिणी प्रसाद र शिवहरि ढुंगानाले नै यो जिम्मा लगाएका थिए ।

जागिरे भएपछि उनी डेरा खोज्दै थिए काठमाडौंमा । त्रिपुरेश्वरमा प्रधानमन्त्रीको निवास थियो । त्यसको उत्तरतिर ५ नम्बर गेष्ट हाउस थियो, जहाँ काठमाडौंका मेजिष्ट्रेट दुर्गादत्त उपाध्याय बस्थे । उपाध्यायको परिवारमा दुई जनामात्रै थिए । केटाकेटी बाहिर पढ्न गएका थिए । त्यसैले उनले रेखबहादुर भट्टराईलाई अन्त डेरा नखोज्न र गेष्ट हाउसमै बस्न भने । यसरी उनले प्रधानमन्त्री निवास नजिकै बास पनि पाए ।

त्यहीँ नजिकै त्रिभुवन विश्वविद्यालयको एमए कक्षा सञ्चालन हुन्थ्यो । उनले पनि आफूले बीए पास गरिसकेकोले एमए पढ्ने सोचाइ बनाए र अंग्रेजी विषय लिएर भर्ना भए । उनले बीएल पनि पढ्न थाले ।

एकातिर प्रधानमन्त्रीको निजी सचिवालयको जागिर, अर्कोतिर पढाइ । उनको समय व्यस्तव्यस्त बित्न थाल्यो । साइकल लिएर उनी कहिले प्रधानमन्त्री निवास, कहिले युनिभर्सिटी त कहिले प्रधानमन्त्री कार्यालय धाउने कर्म बन्यो ।

उनी बिहान प्रधानमन्त्रीको निवास पुग्थे । प्रमुख निजी सचिवले अह्राएका कामहरु गर्थे । मोरङ र विराटनगरबाट आएका मानिसहरुलाई प्रधानमन्त्री कोइरालासँग भेटघाट गराउने मेलोमेसो मिलाउँथे । तिनका कामहरु टुंगो लगाउने व्यवस्था मिलाउँथे । त्यसपछि एमएको कक्षा भ्याउँथे र दिउँसो सिंहदरवार पुग्थे, प्रधानमन्त्रीको कार्यालय । बेलुकी कानुनको पढाइ छँदैथियो ।

यो व्यस्तताको भागदौडमा उनको दिन बितिरहेको थियो । त्यही बेला प्रधानमन्त्रीको सचिवालयमा सहायक निजी सचिवको पद खाली भयो । त्यो पदमा आफूले काम गर्नपाए हुन्थ्यो भन्ने भट्टराईलाई लाग्यो । यो इच्छा उनले सिधै बीपीलाई भन्न सकेनन् । त्यसैले उनले शैलजा आचार्यलाई आफ्नो इच्छा बताए । शैलजाले पनि भइहाल्छ नि भन्दै मामा बीपीलाई रेखबहादुरको इच्छा सुनाइदिइन् ।

केही समयपछि उनी सहायक निजी सचिव भए प्रधानमन्त्रीको निजी सचिवालयका । सहायक निजी सचिव भएपछि उनको व्यस्तता झनै बढ्यो ।  हुनत उनी भन्दा माथि अरु पनि निजी सचिव थिए । तर विराटनगरको स्थानीय बासिन्दा भएकोले उनले विराटनगर र मोरङबाट आएकाहरुको पनि विशेष ध्यान राख्नु पर्दथ्यो ।

भट्टराई भन्छन्, “बीपी कोइरालामा जनतालाई रिझाउन सक्ने अथाह शक्ति थियो । उहाँले आफू अगाडि बसेकालाई कहिले पृथक रुपमा हेर्नुभएन । सबैलाई समान रुपमा हेर्नुभयो । काममा अतिनै सिन्सियर हुनुहुन्थ्यो ।”
रेखबहादुर भट्टराईका अनुसार प्रधानमन्त्री भएका बखत बीपीले १५–१५ दिनमा प्रेस कन्फ्रेन्स गर्दै आएका थिए । उनी पारदर्शीरुपमा पत्रकारसँग प्रस्तुत हुन्थे । हरेक दिन आम नागरिकहरुसँग भेटघाट गर्थे । तिनका समस्या सुन्थे । समस्याको समाधानका लागि पहल गर्थे । बीपी सबैलाई समय दिन्थे ।

एउटा प्रसंग भट्टराई सुनाउँछन्, “प्रधानमन्त्री बीपीले पच्चीस सय रुपैयाँ तलब पाउनु हुन्थ्यो । तर हरेक महिना एक हजार रुपैयाँ राज्य कोषमा नै फिर्ता गरिदिनु हुन्थ्यो । १५ सय रुपैयाँमा आफ्नो खर्च चलाउनु हुन्थ्यो ।”

उनका अनुसार प्रधानमन्त्री बीपी कोइराला नियमित रुपमा बिहान सबेरै बागमती किनारमा घोडचढी गर्थे र कहिले कोसँग कहिले कोसँग ब्याडमिन्टन पनि खेल्थे ।

२०१७ सालको पुस १ गते आफ्नो जागिर गएर ढाक्रे भएको कुरा उठाउँदा उनी भन्दै थिए, “बीपी कोइरालाको मुख्य कमजोरी भनेकै कसैलाई पनि चाँडै विश्वास गर्ने, अति विश्वास गर्ने थियो । उहाँले धेरैलाई अति विश्वास गर्नु भयो । त्यसैको परिणती थियो १७ सालको काण्ड ।”

उनले अगाडि थपे, “हेर्नुस्, विश्वासको पराकाष्टा, भरखर भरखर राजनीतिमा आएका डा. तुलसी गिरिलाई उहाँले एकैचोटी परराष्ट्र मन्त्रालयको जिम्मा दिनुभयो । जबकी उहाँले त्यो पदमा रुद्रप्रसाद गिरीलाई ल्याउनु पथ्र्यो । किनभने रुद्रप्रसाद गिरी भनेको नेपाली कांग्रेसमा ००७ साल अघिदेखि लागेका व्यक्ति थिए । त्यस्तै सात साल अघि आफैंलाई पक्राउ गर्नेलाई उहाँले अडिटर जनरल बनाउनु भयो । हरेकप्रति यस्तो अथाह विश्वास बीपीमा थियो ।”

महेन्द्र बीपीलाई प्रधानमन्त्री बनाउन चाहन्थेनन् । यो त इतिहासमै लेखिएको छ । उनको इच्छा सुवर्ण शमसेरलाई प्रधानमन्त्री बनाउने थियो । तर जनताले बीपीलाई चुनेका थिए । त्यसैले बीपीको विकल्प थिएन । त्यसैले सबैले बीपीकै समर्थन गरेका थिए ।
त्यसै बखत तत्कालिन राजा महेन्द्र देशाटनका लागि सुदूरपश्चिमतिर लागे । उनी काठमाडौं बाहिर जाँदा बीपीले सवारी मन्त्री डा. तुलसी गिरीलाई तोके । त्यसो त बेलाबखत प्रधानमन्त्री कोइराला पनि पश्चिमतिर जान्थे । तर राजनीतिका चतुर खेलाडी डा. गिरीले राजा महेन्द्रसँगको सम्पर्कलाई आफ्नो हितका लागि प्रयोग गरेको भट्टराई बताउँछन् ।

उनी भन्छन्, “यसरी बेलाबखतमा बीपी कोइराला पश्चिम जाँदा आम नागरिकले महेन्द्रको भन्दा बीपीको जयजयकार बढी गरेको पाइयो । यो कुरा महेन्द्रलाई खट्कियो । सायद उनमा इष्र्या पैदा भयो । त्यसैले पनि होला, उनले नेपालगन्ज पुगेर त्यसबेलाको सरकार र बीपीलाई चेतावनी दिए ।”

त्यसबेला राजा महेन्द्रले बीपी जनताबाट चुनिएर आएका हुन् भन्ने भुले सायद । त्यसैले पनि उनमा बीपीप्रति रोष उत्पन्न भयो । उनले आफू नै सर्वेसर्वा हुँ भन्ने भावनालाई मलजल गर्दै गए । र, यो उनको सोचमा डा. तुलसी गिरीहरुको साथ रह्यो । त्यसैले पनि तुलसी गिरीसित महेन्द्रको सम्पर्क बढ्दै गएको भट्टराईको तर्क छ । किनभने बीपीले डा. गिरीलाई विना विभागीय मन्त्रीमा उतारेका थिए । फलतः डा. गिरीमा आफू शक्तिमा पुग्ने सोचाइ हावी हुँदै गयो ।

पुस १ गतेपछि उनको काम भएन । उनले परिवार विराटनगर पठाए । आफू पढाइ पूरा गर्न काठमाडौं बसे । त्यसको केही महिनापछि लोकसेवा आयोगले पहिलो पल्ट ७५ जना सेक्सन अफिसर माग्यो । तारकबहादुर शाह लोकसेवाका अध्यक्ष थिए । उनी विराटनगरमा बडाहाकिम पनि भएका थिए । भट्टराईको उनीसँग परिचय थियो ।

उता दुर्गादत्त उपाध्यायले रेखबहादुर भट्टराईलाई तारकबहादुर शाहलाई भेट्न भने । उनी भेट्न गए । फर्म भरे । जाँच दिए । उनको नाम सेक्सन अफिसरमा निस्कियो । उनको पहिलो पोष्टिङ्ग अर्थ मन्त्रालयमा भयो । त्यस उप्रान्त उनले एउटा लामो कालखण्ड सरकारी सेवामा बिताए ।

भट्टराई भन्छन्, “मैले २०४५ सालसम्म जागिर खाएँ, सरकारका विभिन्न पदमा रहेर । र, म कामु सचिवबाट रिटायर्ड भएँ ।”