एमाले र माओवादी विच पार्टी एकता, २ अध्यक्ष सहित ४४१ केन्द्रीय सदस्य

काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण भएको छ ।
एकीकरण पछि उक्त पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अपराह्न बसेको एमाले र माओवादी केन्द्रको संयुक्त बैठकबाट एमाले र माओवादी केन्द्रलाई औपचारिकरुपमा विघटन गर्दै नयाँ पार्टी घोषणा गरिएको हो ।
नवगठित नेपाल कम्युनिष्ट पार्टीको अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल रहेका छन् ।
दुवै अध्यक्षले एक–अर्कालाई शपथग्रहण गराएका छन् ।
केपी शर्मा ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल गरि पार्टीमा ९ जनाको सचिवालय बनाइएको छ ।
सचिवालयको महासचिवमा विष्णु पौडेल र प्रवक्तामा नारायणकाजी श्रेष्ठलाई बनाएको छ ।
नवगठित नेपाल कम्युनिष्ट पार्टीको औपचारिक घोषणा भने बिहीबार नै राष्ट्रियसभागृहबाट गर्ने निणर्य भएको छ ।
नयाँ पार्टीमा ४४१ जना केन्द्रीय सदस्य र ४३ जना स्थायी समिति सदस्य रहेका छन् ।
केन्द्रीय कमिटीमा माओवादी केन्द्रले ४५ प्रतिशत पाएको छ । स्थायी कमिटीमा एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ जना हुनेछन् ।
एकतापछि पार्टीको चुनाव चिह्न सूर्य हुने भएको छ ।
पार्टीको निर्देशक सिद्धान्त ‘माक्र्सवाद–लेलिनवाद’ हुने भएको छ ।
एमालेले भन्दै आएको ‘जनताको बहुदलीय जनवाद’ र माओवादीले भन्ने गरेको ‘२१औं शताब्दीको बहुदलीय जनवाद’लगायतका वैचारिक मान्यतामा छलफल गर्दै जाने सहमति पनि दुई दलबीच भएको हो ।