विमान दुर्घटनामा मृत्यु भएका चालक र सहचालकको शव काठमाडौं ल्याइयो

काठमाडौं । हुम्लामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको मकालु एयरको ट्विनटर बिमानका चालक दलका २ सदस्यलाई बुधबार अपरान्ह काठमाडौं ल्याइएको छ । सुर्खेतबाट हुम्लाको सिमकोटका लागि उडेको उक्त बिमान पहाडमा हुम्लाको खार्पुनाथ गाउँपालिका–२ बामखर्कमा दुर्घटनामा परेको थियो । विमान पहाडमा ठोक्किएको अनुमान छ । चालक दलमा रहेको पाइलट किरण भट्टराई र सहायक पाइलट आदित्य नेपालीको शव सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो । शवलाई टिचिङ अस्पताल महाराजगंजमा राखिएको छ । उडेको दुई घन्टासम्म पनि विमान नभेटिएपछि प्रहरीको टोलीले करिब साढे १२ हजार ८ सय फिटको उचाईमा रहेको बाहुनखर्कमा जहाज तीन टुक्रा भएको अवस्थामा भेटाएको हो । जहाज उडेको १५ मिनेटमै सम्पर्कविहीन भएको थियो । विमान खराब मौसमका कारण बिहान दुर्घटना भएको अनुमान छ । विमानले ११७० किलो सामान बोकेर सिमकोटका लागि उडेको थियो ।