शंकास्पद वस्तु भेटिएपछि पूर्व–पश्चिम राजमार्गको सवारी आवागमन अबरुद्ध

३० वैशाख, विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिकाको दुलारीमा शंकास्पद वस्तु फेला परेको छ । पूर्व–पश्चिम राजमार्गको बीच सडकमा शंकास्पद वस्तु भेटिएपछि आवागमन प्रभावित भएको छ ।
सुन्दरहरैचाको वडा नं. ४ र ६ को सिमानामा पर्ने पूर्व–पश्चिम राजमार्गको सडकमा आइतवार बिहान शंकास्पद वस्तु फेला परेको हो ।
सडकको मुख्य भागमा दुईवटा वट्टामा पहेँलो टेपले बेरेर तार निकालिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
सडकको केन्द्र भागमा शकास्पद वस्तु फेला परेपछि आइतबार बिहान सात बजेदेखि सो सडक अबरुद्ध भएको छ ।
मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण बिसीले सडकमा फेला परेको शंकास्पद वस्तु हटाउन नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको जानकारी दिए । प्रहरी उपरीक्षक विसीले शंकास्पद वस्तु बम हो या होइन भन्नेबारे केही नखुलेको बताए ।
शंकास्पद वस्तु विप्लव नेतृत्वको नेकपाले राखेको हुनसक्ने आंशका प्रहरीले गरेको छ ।