Mar 22, 2023

राजधानीमा जार र बोतलको पानीमासमेत दिसाका जीवाणु

May 10 , 2018

काठमाडौं, २७ बैशाख । जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौंले ललितपुर र भक्तपुरका पनि धाराको पानी नमुना संकलन गरेको थियो । तीमध्ये ७० प्रतिशतमा हानिकारक जीवाणु भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रबहादुर श्रेष्ठले बताए ।

देशभर ६ सय ट्यांकर सञ्चालित छन् । आजको नयाँपत्रिका दैनिकमा खबर छ–त्यसमध्ये काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पाँच सय आठ ट्यांकरलाई सूचीकृत गरेको छ । जम्मा १४ वटा ट्यांकरमा मात्र शुद्ध पिउने पानी हुन्छ, ५५ वटा ट्यांकरको पानी शुद्धीकरण गरेर मात्र पिउन सकिन्छ । बाँकी ट्यांकरको पानी लुगा धुन मात्र प्रयोग गर्न सकिन्छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार देशभर पानी प्रशोधन गर्ने पाँच सय उद्योग छन् । जार तथा बोतलको पानी सुरक्षित भनेर घरमा मात्र होइन, होटेलमा पनि प्रयोग गरिन्छ । तर, काठमाडौंमा संकलित नमुनामध्ये १५ प्रतिशत पानीमा जीवाणु भेटिए । चार महिनामा चार कम्पनीविरुद्ध सरकारले नै मुद्दा हालेको छ ।

राजधानीवासीले उपभोग गर्ने खानेपानीका सबै स्रोत दूषित भेटिएका छन् । धारा र इनारको मात्र होइन, ट्यांकर, जार र बोतलको पानीमा पनि दिसामा पाइने जीवाणु भेटिएका छन् ।

सर्वसाधारणले पिउने जारको पानी सबैभन्दा बढी प्रदूषित रहेको एक अध्ययनले देखाएको छ । खाजाघर, पानीपुरी पसलमा पिउनका लागि ग्राहकलाई दिइने जारको पानीमा दिसामा हुने हानिकारक जीवाणु इ. कोली र कोलिफर्म भेटिएकोे हो । वातावरण तथा जनस्वास्थ्य संगठन (इन्भारोमेन्ट एन्ड पब्लिक हेल्थ अर्गनाइजेसन)ले चालू आर्थिक वर्षमा गरेको अध्ययनले पानीमा हानिकारक जीवाणु फेला पारेको हो ।

मनसुन सिजनमा संकलन गरिएको पानीको नमुनामध्ये जार र ट्यांकर, ढुंगेधारा र इनारको पानी सबैभन्दा बढी दूषित पाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार जार, ट्यांकर, ढुंगेधारा र इनारको पानीको सतप्रतिशत नमुनामा इ. कोली र कोलिफर्म पाइएको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट वितरण गरिएको पानीमा तुलनात्मक रूपमा हानिकारक जीवाणु कम पाइएको थियो । लिमिटेडबाट वितरित पानीको नमुनामध्ये ५३ प्रतिशतमा मात्र इ। कोली र कोलिफर्म पाइएको थियो ।

पोस्ट मनसुन सिजनमा गरिएको अध्ययनले भने लिमिटेडबाट वितरित पानीमा धेरै समस्या पाइएको छ । धाराको पानीको नमुनामध्ये ६४ प्रतिशतमा हानिकारक जीवाणु भेटिएको थियो । २४ प्रतिशत ट्यांकरको पानी र १५ प्रतिशत जारको पानीमा इ। कोली र कोलिफर्म पाइएको थियो । पोस्ट मनसुनमा ढुंगेधारा र इनारको पानीमा हानिकारक जीवाणु नपाइएको प्रतिवेदनमा उल्लेख छ ।

मनसुन सिजनमा खाजाघरहरूमध्ये काठमाडौंका ७१ प्रतिशतले जारको पानी प्रयोग गरेका थिए भने ललितपुरका २६ प्रतिशतले जारको पानी प्रयोग गरेका थिए । त्यस्तै, काठमाडौंका ११ प्रतिशत र ललितपुरका १० प्रतिशतले ट्यांकरका पानी प्रयोग गरेको, धाराको पानी काठमाडौंका १७ र ललितपुरका ५५ प्रतिशत खाजाघरले प्रयोग गरेका थिए । त्यसैगरी ललितपुरका खाजाघरहरूमध्ये ४ प्रतिशतले धाराको र पाँच प्रतिशतले इनारको पानी प्रयोग गर्ने गरेको पाइयो ।

पोस्ट मनसुन सिजनमा जारको पानीको प्रयोग बढेको अध्ययनले देखाएको छ । पोस्ट मनसुनमा काठमाडौंका ७५ प्रतिशत र ललितपुरका ३५ प्रतिशतले जारको पानी प्रयोग गरेका थिए । त्यसैगरी काठमाडौंका १५ र ललितपुरका तीन प्रतिशत खाजाघरहरूले ट्यांकरको पानी प्रयोग गर्ने गरेको पाइयो ।

शुक्रराज ट्रफिकल सरुवा रोग अस्पतालमा कार्यरत भाइरोलोजिस्ट डा. शेरबहादुर पुनका अनुसार इ.कोली मानिस तथा जनावरको दिसामा पाइने जीवाणु हो । यस्ता जीवाणु भएको पानी पिएमा झाडापखाला लाग्छ । ‘कोलिफर्म पनि मान्छेको दिसामा पाइने घातक जीवाणु हो,’ डा पुनले भने, ‘यस्ता जीवाणु भएको पानी नउमाली पिएमा झाडापखाला, आउँ, जन्डिस, टाइफाइड, हेपाटाइटिस ‘ए’ ‘ई’ जस्ता रोग लाग्छन् ।’

संगठनले वर्षाअघि र पछि गरी दुई चरणमा अध्ययन गरेको थियो । अध्ययनको क्रममा काठमाडौंका खाजाघर र पानीपुरी पसलबाट मनसुन सिजनमा ९० र वर्षापछि ९पोस्ट मनसुन सिजन० ९३ वटा नमुना संकलन गरिएको थियो । ललितपुरबाट मनसुनमा ९७ र पोस्ट मनसुन सिजनमा ९१ वटा नमुना संकलन गरिएको थियो । काठमाडौं र ललितपुरका मुख्य चहलपहल हुने चोक र मुख्य सडकछेउका खाजाघर तथा सडकमा बेचिने पानीपुरीमा प्रयोग भएको पानीको नमुना परीक्षण गरिएको थियो । ‘उपत्यकामा प्रयोग हु“दै आएको पानी पिउनयोग्य छैन । पिउनुअघि पानीलाई राम्ररी उमाल्नुपर्छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले भने ।

होटेलमा मात्र नभएर राजधानीका घरहरूमा प्रयोग हु“दै आएको पानीमा पनि इ। कोली र कोलिफर्मजस्ता घातक जीवाणु पाइएका छन् । दातृ निकायको सहयोगमा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) मा चालू आर्थिक वर्षको सुरुमा गरेको अध्ययनमा यस्तो देखिएको हो ।

जनस्वास्थ्यले तीन जिल्लाका एक हजार ३ सय ६७ घरबाट पिउने पानीको नमुना संकलन गरी प्रयोगशाला परीक्षण गरेको थियो । तीमध्ये करिब ७० प्रतिशत पानीका नमुनामा हानिकारक जीवाणु भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका तत्कालीन प्रमुख रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

अध्ययनका क्रममा उपत्यकाका घरहरूमा प्रयोग हुँदै आएका काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट वितरित पानी, जार र बोतलका प्रशोधित पानीको साथै ढुंगेधाराको पानीको समेत नमुना संकलन गरी परीक्षण गरिएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!