Sep 26, 2023

अलिबाबा नेपालमा

May 10 , 2018

इकमर्श जायन्ट अलिबाबा नेपाल प्रवेश गरेको छ। चिनियाँ इकमर्श साइट अलिबाबा दराजको माध्यमबाट नेपाल प्रवेश गरेको हो। दक्षिण एसियामा अहिले पनि अनलाइन सपिङ व्यवसाय गरिरहेको दराजको स्वामित्व अलिबाबाले लिएपछि नेपालमा पनि अलिबाबा प्रवेश भएको हो।

सन् २०१२ मा स्थापना भएको पाकिस्तानको दराज नेपालसहित पाकिस्तान, बंगलादेश, श्रीलंका, म्यानमारलगायतका देशमा यो अनलाइन सपिङ साइटको रुपमा संचालन भइरहेको छ।

पाकिस्तानी कम्पनी दराजको होल्डिङ कम्पनी जर्मनको रकेट इन्टरनेट रहेको थियो। दराजको स्वामित्व किनेको अलिबाबा समूहले आफ्नो ट्वीटर ह्यान्डलबाट जानकारी दिएको छ।

यसअघि नेपालमा क्यामु डटकमको नामबाट संचालन भएको थियो। क्यामु र दराज मर्ज भएपछि दराजको नामबाट नेपालसहितका दक्षिण एसियाली मुलुकमा यसले अनलाईन सपिङ व्यवसाय गरिरहेको थियो।

सन् २०१४ मा नेपालमा क्यामुको नामबाट आएको थियो। जर्मन कम्पनी रकेट इन्टरनेटले क्यामु र पाकिस्तानको दराजलाई मर्ज गरेर दराजको नामबाट सन् २०१६ बाट संचालन गरेको थियो।

विश्वकै सबैभन्दा ठुलो मध्येको एक इकमर्श साइट अलिबाबाले दराजकै नामबाट व्यवसाय संचालन गर्ने जनाएको छ।

अलिबाबाले दराजलाई कति रकममा खरिद गरेको हो भन्नेबारे केही खुलाइएको छैन्। अलिबाबा फोर्बस्‌को सूचीमा १५ औं स्थानमा रहेका अर्बपति ज्याक माको कम्पनी हो।

अलिबाबाले खरिद गरे पनि दराज पुरानै नाममा रहने बताइएको छ।

चीन बाहिर तीब्र विस्तारको रणनीतिमा रहेको अलिबाबा नेपालसहितका देशमा प्रवेश गरेसँगै यो क्षेत्रमा इकमर्श बलियो हुने अपेक्षा गरिएको छ।

‘अलिबाबाको इकोसिस्टममा डराज जोडिएकोमा हामी उत्साहित भएका छौं’ अलिबाबाको समाचार साइट अलिजिल्लालाई अलिबाबाका प्रमुख कार्यकारीले भने,‘हामी दारजसँगै यो क्षेत्रमा हाम्रो प्रविधिमार्फत उपभोक्तालाई बढीभन्दा बढी सेवा दिनसक्छौं।

कम्प्युटिङ तथा इन्टरनेटको काम गर्ने अलिबाबा समूहले विभिन्न मोडलबाट इकमर्श साइट चलाइरहेको छ। उत्पादकबाट उपभोक्तालाई बिक्री गर्ने र उपभोक्ताले अर्को उपभोक्तालाई बिक्री गर्ने फरक फरक प्लेटफर्म छन्। त्यस्तै उत्पादक बाट उत्पादकलाई आपूर्ति गर्ने पनि उसको फरक प्रणाली रहेको छ।

कारोबारको हिसाबले संसारकै ठुलो अलिबाबाले २०१८ को पहिलो चौमासिकमा करिब १० अर्ब अमेरिकी डलर कमाएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!