पर्सामा प्रहरी र अपराधी छुटाउन पुगेका स्थानीयबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका छन् ।
जिल्लाको जिराभवानी गाउँपालिका–२ सेढवामा रहेको इलाका प्रहरी कार्यालय घेराउ गर्न गएका स्थानीय र प्रहरीबीच झडप भएको हो ।
जिल्ला प्रहरी कार्यालय, पर्साले ठोरी गाउँपालिका–४ सुवर्णपुरबाट मोबाइल चोरी र मादक पदार्थ सेवनको आरोपमा पक्राउ परेका ६ जनालाई छुटाउन माग गर्दै पुगेका स्थानीय तोडफोडमा उत्रिएपछि झडप भएको जानकारी दिएको छ ।
झडपमा ५ प्रहरी घाइते भएका छन् । घाइते प्रहरीको अवस्था सामान्य रहेको छ ।
स्थानीयले २ मोटरसाइकलमा आगजनीसमेत गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले पक्राउ परेका ६ जनालाई छुटाउन माग गर्दै स्थानीय तोडफोडमा उत्रिएपछि झडप भएको बताए । ‘प्रहरीले सम्झाइ– बुझाइ गर्ने धेरै प्रयास गर्यो, तैपनि केहि उछृङ्खल व्यक्तिहरुले प्रहरी माथि ढुंगामुढा गर्ने, प्रहरीको मोटरसाइकलमा आगजनी गर्ने जस्ता अपराधिक क्रियाकलाप गर्न थालेपछि हवाई फायर गरेर भीडलाई तितरबितर बनाएका हौं’, प्रहरी उपरीक्षक लिम्बुले घटनाबारे जानकारी दिँदै अनलाइनखबरसँग भने ।
प्रहरीले ठोरी ४ सुवर्णपुर बस्ने २३ वर्षीय सुबा लामा र २५ वर्षीय दिनेश लामालाई मोबाइल चोरी आरोपमा नियन्त्रणमा लिएको थियो भने बेतिया घर भएका २२ बर्षिय बजरंगी गौरो, राम प्रवेश गौरो, २१ वर्षीय वीरम्भर गौरो र दयाल महतोलाई मदिरा सेवन गरी एउटै मोटरसाइकलमा यात्रा गर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो
इलाका प्रहरी कार्यालय सेढवामा राखेर पोखरिया लैजाने तयारी गर्दै गर्दा राति १० बजेतिर महिलाहरुको समूह आएर प्रदर्शन गरेको र त्यसपछि मध्यरातमा उछृङखल पुरुषहरुको समूह आएर प्रहरीमाथि ढुंगामुढा तथा आगजनी गरेको प्रहरी भनाइ छ ।
त्यसपछि भिडलाई नियन्त्रणमा लिन पौने ३ बजेतिर १२ राउन्ड हवाई फायर गर्नुपरेको प्रहरीले बताएको छ । प्रहरीले स्थानीय बासिन्दाहरुसँग मिसिएर भारतीय नागरिकहरु समेत आक्रमणमा आएको दाबी गरेको छ ।
यसैबीच, प्रहरीले स्थानीयलाई तोडफोड र आगजनीका लागि उक्साएको आरोपमा जिराभवानी गाउँपालिकाकी उपप्रमुख उषा चौधरीलाई पक्राउ गरेको छ । छिमेकी शुभनारायण पटेलको घरमा लुकेर बसको अवस्थामा आज बिहान चौधरीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका भारतीयमध्येका एक जना उप–प्रमुख चौधरीको नातामा ज्वाइँ पर्ने व्यक्ति रहेको स्थानीयले बताएका छन् । पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले चौधरीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको स्वीकार गरेका छन् । ‘घटनाका बारेमा सोधपुछका लागि उपप्रमुख चौधरीलाई नियन्त्रणमा लिएका छौं’, उनले भने