बजेट अधिवेशन आजबाट, ४ अध्यादेश पेश गर्ने तयारी

२३ वैशाख, काठमाडौं । संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आजदेखि शुरु हुँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा संघीय संसदको दोस्रो अधिवेशन शुरु हुन लागेको हो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको बैठक आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गरेका थिए । प्रधानमन्त्रीको सिफारिस अनुसार, राष्ट्रपतिले संसद् बैठक आह्वान गरेकी हुन् ।
अपराह्न ४ बजे दुवै सभाका बैठक एकैसाथ सञ्चालन हुनेछ ।
संसद् सचिवालयका अनुसार, आइतबार दुवै सभाका बैठकमा संघीय सदनको अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरी सुनाउने, ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने तथा अधिवेशनअघि जारी भएका चारवटा अध्यादेशहरु प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ । दुवै सभासँगसम्बन्धी नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची समेत तय भएको छ ।
आइतबारपछिका बैठकहरुमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल, सशोधन प्रस्तुत गर्ने अवधि र पारित गर्ने, साथै पहिलो बैठकमा प्रस्तुत भएका अध्यादेशहरु क्रमशः स्वीकृत हुने छन् ।
वैशाख २६ देखि २८ गतेसम्म (प्रि–बजेट) विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त अर्थमन्त्रीद्वारा प्रस्तुत हुने र सभामा छलफल गर्ने सचिवालयले प्रारम्भिक सम्भावित कार्यसूची बनाएको छ ।
अधिवेशनको क्रममा जेठको पहिलो हप्ता राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन समेत हुनेछ ।
त्यसपछिका संसदको बैठकमा नीति तथा कार्यक्रम माथि छलफल गर्ने, प्रधानमन्त्रीबाट जवाफ दिने र पारित गर्ने सन्दर्भ रहने छ ।
संवैधानिक व्यवस्थाअनुसार अर्थमन्त्रीले जेठ १५ गते सदनमा सरकारको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरिसक्नु पर्ने व्यवस्था छ ।
अधिवेशनका क्रममा बजेटमाथि एक हप्ता सैद्धान्तिक छलफल गर्ने र अर्थमन्त्रीद्वारा जवाफ दिने कार्यक्रम रहने छ ।
त्यसपछिका बैठकमा विनियोजन विधेयक प्रस्तुत गरी सबै मन्त्रालयका शीर्षकगत छलफल गर्ने, पारित गर्ने र सोसँग आश्रित विधेयकहरु आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पारित गर्ने समयसीमासहितको सम्भावित कार्यक्रम रहेको छ ।
अधिवेशनको क्रममा सदनमा प्राप्त संविधान कार्यान्वयनसम्बन्धी विभिन्न विधेयमाथि छलफल गर्ने, संसद सचिवालयमा दर्ता हुन आएका सार्वजनिक महत्वका र संकल्पलगायतका प्रस्तावमाथिसमेत छलफल गरिनेछ ।
संघीय संसदको दोस्रो अधिवेशनको क्रममा संसदीय अभ्यासका लागि महत्वपूर्ण मानिएका समितिहरु गठन गरिनेछ ।