Sep 27, 2023

अझै केही दिन पानी परिरहने

May 03 , 2018

भारतको बिहार र उत्तर प्रदेशमा बनेको न्यूनचापीय रेखाका कारण केही दिनयता नेपालभरिको मौसम बदलिएको छ।

शुक्रबारदेखि सुरु भएको पानी पर्ने क्रम अझै रोकिएको छैन। अझै केही दिन पानी परिरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘हामीले तीन दिनसम्मको अनुमान गर्छौं, तीन दिनसम्म देशभरि नै हल्काफुल्का वर्षा भइरहने देखिन्छ,’ महाशाखाका मौसमविद् सुवास रिमालले भने, ‘उत्तरी भारतमा बनेको न्यूनचापीय रेखा र त्यसमा मिसिएको पश्चिमी वायूको प्रभावले वर्षा भइरहेको हो।’

न्यूनचापीय रेखा बन्दा अर्को ठाउँबाट हावा त्यहाँ आइपुग्छ। अहिले बंगालको खाडीबाट पानी बोकेको हावा उत्तरी भारतमा आइरहेको छ।

‘त्यही हावाले बोकेर ल्याएको मोइस्चरका कारण अहिले वर्षा भइरहेको हो,’ रिमालले भने।

उनले अझै केही दिन मनसुनजस्तो लगातार पानी नपर्ने तर ठाउँठाउँमा हल्का र मध्यम खालको वर्षा हुने बताए।