Sep 26, 2023

हावाहुरी र असिना पानीले तरकारी खेतीमा लाखौंको क्षति

May 01 , 2018

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ उत्तर कपडादेवीको गनारमा ६४ वर्षीया खिरैया चौधरी मंगलबार हावाहुरीसँगै परेको असिना पानीले क्षत विक्षत तरकारीलाई ओल्टाई पल्टाई हेर्दै थिइन्। ठूलो हावाहुरी  र असिना पानीले उनको खेतमा काँक्रा, लौका, खुर्सानी र टमाटर जस्ता तरकारीमा बढी क्षति भएको थियो।

‘दैव पर्‍यो बाबु, हाम्रो त ठूलो क्षति भइगयो। बेच्ने बेलाको तरकारी सत्यानाश भयो,’ चौधरीले भनिन्। सबैभन्दा बढी क्षति काँक्रा र लौकामा भएको उनले जनाइन्। ‘अब एक दुई दिनमै बेच्ने सल्लाह भएको थियो, तर त्यही बेला हावाहुरीसँगै परेको असिना पानीले सबै सखाप पारिदियो,’ चौधरीले भनिन्।

क्षतिको विवरण यकिन भने भइनसकेको उनले बताइन्।

उत्तर कपडादेवीको उक्त गनारमा स्थानीय गाउँले किसानले लगाएको तरकारी खेतीमा आइतबार दिउँसो र रातिको हावाहुरीले लाखौंको क्षति पुगेको छ।

हावाहुरीले दाङको देउखुरी क्षेत्र लगायत जिल्लाभर नै ठूलो क्षति पुर्‍याएको किसानले गुनासो गरेका छन्।

क्षतिको एकिन विवरण भने स्थानीय सरकार र जिल्ला कृषि विकास कार्यालय कसैसँग छैन। जिल्ला कृषि विकास कार्यालका पदाधिकारी आफूहरूसँग पहिलाजस्तै क्षतिको विवरण संकलन गर्न जाने कर्मचारी नभएको बताउँछन्, तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता श्याम डाँगीले दुई दिनको लगातार बिदाका कारण क्षतिको विवरण संकलन हुन नसकेको बताउँछन्। उनले बुधबारदेखि क्षतिको तथ्याङ्क संकलनको काम सुरू हुने जानकारी दिए।

हावाहुरी र असिना पानीले आफूले खेतमा लगाएको सबै तरकारी सखाप भएको हुँदा स्थानीय सरकारले राहात प्रदान गर्नुपर्ने स्थानीय ५४ वर्षीय किसान जीतबहादुर चौधरीले माग गरे।

‘हावाहुरी र असिना पानीले हाम्रो तरकारीमा ठूलो क्षति भएको छ। क्षतिको मूल्याङ्कन गरी राज्यले सक्दो राहात प्रदान गर्नुपर्छ,’ जितबहादुर चौधरीले भने।

‘असिनाले काँक्रा र लौकाको बोट नै झियाझिया भएको छ। फल पनि सबै दागी भएको छ। पाकेको टमाटर खेतैभरी असिनाले हानेर फुटेको छ,’ चौधरीले भने।

हावाहुरी र असिना पानीले बेमौसमी तरकारी खेती गर्ने किसानहरू ठूलो मर्कामा परेको बताए। जिल्ला कृषि विकास कार्यालयले आधुनिक विउविजन सहुलियतमा उपलब्ध गराएको भए पनि यसपालि आफूहरूलाई परिस्थितिले गर्दा ठूलो क्षति पुगेको उनले बताए।

‘मल विउविजन किनेको खर्च नै नउठ्ने भयो। हाम्रो पसिनाको त कुरै भएन,’ चौधरीले भने।

उनले अब स्थानीय सरकारले जनताको पिरमर्का बुझेर पीडित किसानलाई सक्दो राहात प्रदान गर्नुपर्ने चौधरीले बताए।

Facebook Notice for EU! You need to login to view and post FB Comments!