Sep 27, 2023

टेकुमा अर्को प्राकृतिक ग्यासको कुवा ड्रिल गर्ने तयारी

Apr 30 , 2018

१७ वैशाख, काठमाडौं । टेकुमा रहेको प्राकृतिक ग्यासको अर्को कुवाको उत्खननका लागि ठेक्का लागेको छ । टेकुको मन्दिर नजिकै रहेको कुवामा ड्रिलिङ सकाएर परीक्षणको तयारी हुँदै गर्दा फोहोरमैला संकलन केन्द्रसँगकै दोस्रो कुवामा ड्रिलिङ र व्यवस्थापनको काम अघि बढाउन लागिएको हो ।

यस्ता परीक्षणबाट काठमाडौंमा प्राकृतिक ग्यासको सम्भाव्यता पत्ता लाग्नेछ र थप अध्ययन-अनुसन्धानका लागि बाटो खुल्नेछ ।

टेकुस्थित प्राकृतिक ग्यास स्टेसनहरुमा जमिनमुनिको ग्यासको वास्तविक अवस्था र त्यसको व्यावसायिक उत्पादन र वितरणबारे प्राविधिक परीक्षण गर्न काम अघि बढाइएको खानी तथा भूगर्भ विभागका प्रकाृतिक ग्यास महाशाखा प्मुख पृथ्वीलाल श्रेष्ठले जानकारी दिए ।

यदि ग्यासको फ्लो-अप राम्रो भेटिए र आर्थिक तथा प्राविधिक रुपमा उत्पादन योग्य देखिए उत्पादन योजना अगाडि बढ्नेछ भनेे नदेखिए योजना स्थगित हुनेछ ।

अघिल्लोपटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ‘घर-घरमा पाइपबाट ग्यास पुर्‍याउने’ योजना यसैका आधारमा सुनाएका थिए । अहिलेसम्म पनि यसबारे ठोस अध्ययन भइसकेको छैन ।

यदि टेकुको प्राकृतिक ग्यास स्टेसनले ‘ग्रीन सिग्नल’ दिए उपत्यकाका अन्य ११ वटा स्टेसनमा पनि त्यसको सम्भाव्यता जाँच अघि बढाउने खानी विभागको योजना छ ।

सबै स्टेसन अहिले अलपत्र अवस्थामा छन् । इमाडोलमा गरिएको परीक्षणले भने त्यहाँ व्यावसायिक उत्पादन गर्न नसकिने अवस्था दर्शाइसकेको छ ।

सबै स्थानमा ड्रिल गरेर उत्पादनको सम्भाव्यता बुझ्न नै सरकारले प्रतिकुवा ६० लाख रुपैयाँभन्दा बढी खर्च गर्नुपर्नेछ । त्यसबाट ग्यास उत्पादन सम्भव देखिए घर-घरमा वितरण गर्ने प्रणाली विस्तार गर्न करोडौं खर्चिन सरकार तयार हुनुपर्ने प्राकृतिक ग्यास महाशाखा प्रमुख श्रेष्ठ बताउँछन् ।

नाकाबन्दीका समयमा ओली सरकारले  बनाएको प्राकृतिक ग्यास उत्खननको योजना अहिलेसम्म अध्ययनमै अल्झिरहेको छ ।

पुरानो अध्ययनका आधारमा काम थाल्दा असफल हुने जोखिम उच्च भएकाले खानी तथा भूगर्भ विभाग अहिलेको अवस्था बुझ्न भन्दै थप अनुसन्धानमा लागेको छ ।

तर, पर्याप्त बजेट, विज्ञ, दक्ष जनशक्ति र आधुनिक प्रविधि अभावका कारण अध्ययन अनुसन्धानको गति सुस्त हुँदा प्राकृतिक ग्यास उत्पादन गर्ने योजना पनि बहुवर्षीय बनेको छ । जसले फेरि पनि पुरानै नियति दोहोरिने अवस्था आउन सक्ने विभागका अधिकारी बताउँछन् ।

३५ वर्षअघि टेकुमा जापानी सहयोग नियोग (जाइका)ले जमिनभित्रको प्राकृतिक ग्यास निकाल्न डि्रल गरेको थियो । तर, लामो समयसम्म त्यसलाई मर्मत सम्भार र रेखदेख नगरेपछि डि्रलिङ गरिएको ग्यास कुवामा माटो र बालुवा भरिएका छन् ।

अब हुने परीक्षण उत्पादनबाट ओलीले भनेजस्तो घर-घरमा ग्यासको पाइप पुर्‍याउने गरी बाटो खुल्ने/नखुल्ने प्रतीक्षाको विषय छ ।

२२ वर्ष अघिसम्म टेकुका कुवाबाट ग्यास निकालेर टेकु क्षेत्रका सरकारी कार्यालय, अस्पताललगायतमा वितरण गरिन्थ्यो ।

२०४१ देखि ०५३ सालसम्म यहाँबाट उत्पादन भएको ग्यास पाइपमार्फत् शुक्रराज ट्रपिकल अस्पताल, भेटेरेनरी अस्पताल, सेनाको मेस, सुन्धाराको टेलिग्राफ र कारागारलगायत सरकारी कार्यालयमा वितरण हुने गरेको थियो ।

त्यतिबेला टेकुकै फोहोर संकलन केन्द्र नजिकै र त्रिपुरेश्वरमा खनिएका अन्य दुई कुवाको ग्यास पनि टेकुको यही प्रणालीमा जोडिएको थियो । अब पनि अर्को एउटा कुवाको ग्यास यही प्रणालीमा जोड्ने योजना बनाइएको छ ।

जाइकाको सहयोगमा ०४० सालतिरै खनिएका हुन्, यी कुवा । काठमाडौंका यस्ता ग्यास कुवाहरु राज्यको बेवास्ताको शिकार भएका थिए । जाइकाले ठूलो लगानी गरेर बनाइदिएको प्रणालीलाई पनि राज्यले सदुपयोग गरेन । ०४६ सालको परिवर्तनपछि यस्ता ग्यास स्टेसन चरम हेलामा परे ।

यहाँ प्रयोग भएका सबै सामग्री जापान सरकारले नै दिएको हो र जडान पनि उसैले गरेको हो ।

त्यसलाई फेरि ब्युँताउन खानी विभागले नयाँ प्रविधि र उपकरणहरु जोड्दैछ । ०५३ सालसम्म यो कुवाबाट पानीसहित ग्यास निस्किन्थ्यो । फिल्टरेसन मेसिनमा राखेर पानी र ग्यासलाई छुट्याइन्थ्यो र प्रशोधन मेसिन हुँदै बुलेटसहितको स्टोरमा हालिन्थ्यो ।

प्राकृतिक ग्यास तरल नभई हावाकै रुपमा हुने भएकाले सिलिन्डरमा भर्न सकिँदैन । यसलाई पाइपमार्फत् मात्रै वितरण गर्न सकिन्छ ।

विभागले एउटा कुवाको मर्मत नसक्दै अर्को स्थानमा पनि ग्यास परीक्षणका लागि डि्रल गर्ने तयारी गरेको छ ।

‘पुराना कुवा काम लाग्ने अवस्थामा छैनन्, नयाँ खन्नुपर्छ । त्यसका लागि एउटै कुवामा लाखौं खर्च हुन्छ,’ श्रेष्ठ भन्छन्, ‘अझ फिल्टर, स्टोर र वितरण गर्ने पूर्वाधारका लागि कति खर्च लाग्छ भनेर स्टिमेट भएको छैन । त्यसमा पनि ठूलो लगानी लाग्छ ।’