ब्यानर विवाद कोट्याउँदै ओलीले भने – केही केटाकेटीलाई पुष्पलालको फोटो नहटाई भएन

१३ वैशाख, काठमाडौं । लेनिन जयन्तीको अवसरमा एमाले र माओवादीले गरेको संयुक्त कार्यक्रम ब्यानर विवादले ४ घण्टासम्म सुरु नै हुन सकेन ।
शीर्ष तहमै दु्इई घण्टा बाझाबाझ गरेपछि बल्ल दुईवटा ब्यानर राख्ने सहमतिपछि ९ वैशाखको उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
पाँच दिनपछि एमालेको एउटा कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ब्यानर विवादबारे कडा टिप्पणी गरेका छन् । उनले ब्यानर विवादलाई केटाकेटीपनको संज्ञा दिएका छन् ।
‘अब अस्ती नौ गते पार्टी स्थापना दिवसमा पनि देख्यौं हामीले । केही केटाकेटीहरुलाई पुष्पलालको फोटो नहटाइकन भएन’ मनमोहन अधिकारीको स्मृति दिवसमा आयोजित कार्यक्रममा ओलीले भने ‘किनभने त्यो हाम्रो मान्छे होइन हाम्रो मान्छे नभएको हुनाले यो अर्को पार्टीको देखियो भनेर पीर ।’
यस्ता विषयमा झञ्झट मान्न नहुने भन्दै ओलीले सम्झाई बुझाई गर्नुपर्ने बताए । ‘मनमोहन अधिकारीलाई आफ्नो मान्छे नदेख्ने पनि हुन्छन् भने के लाग्छ । अलि पछि बुझ्छन् । हामीले अलि बुझाउन सक्या रहेनछौं । बुझ्छन्, बुझ्नको अर्को बाटै छैन ।’
प्रधानमन्त्री ओलीले पार्टी एकता गर्दा म कहाँ हुन्छु, मेरो पक्ष कहाँ हुन्छ जस्ता अनावश्यक कुराले चर्चा पाउँदा जनतामा आशंका बढेको पनि बताए । उनले देश र जनताप्रति गर्नुपर्ने कर्तव्य भन्दा आफ्नो फाइदा हेर्दा कम्युनिष्ट एकतामा आशंका बढेको पनि टिप्पणी गरे ।
‘विचार, अगाडिका हाम्रा अभिभाराहरु, हामीले गर्नुपर्ने काम, देश र जनताप्रति हाम्रो कर्तव्य, त्यसको चर्चा भन्दा म कहाँ हुन्छु, मेरो पक्ष कहाँ हुन्छ, हामी कति हुन्छौं जस्ता कुराहरुले अलि अनावश्यक चर्चा पाउँदा जनतामा आशंका बढ्या छ’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले यस्ता विषयमा ध्यान दिनेहरुको संख्या थोरै रहेको भन्दै नेता र आम कार्यकर्ताले भने देशको भविष्यतिर ध्यान दिएको बताए । ‘तर म के स्पष्ट गर्न चाहन्छु भने केहीकेहीले त्यतापटि्ट ध्यान दिए पनि आम कार्यकर्ताको, नेताको, जनताको ध्यान भनेको देश, देशको भविश्य हो’ उनले भने ।
नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीलाई बिर्सेमा कम्युनिष्ट आन्दोलन नै समाप्त हुने ओलीले बताए । ‘पुष्पलाल, मनमोहन, मदन भण्डारी फ्याँक्छौं भने कम्युनिस्ट आन्दोलन बाँकी रहँदैन । त्यो यथार्थ हामीले थाहा पाउनुपर्छ’ उनले भने ।