Sep 26, 2023

३ करोड खर्चेर बौद्ध सम्मेलन र बुद्ध जयन्ती मनाइँदै

Apr 24 , 2018

स्थानीयबासीलाई उपेक्षा गरेको र काम पारदर्शी नभएको गुनासो

११ वैशाख, बुटवल । २५६२ औं बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तीव्र भइरहँदा स्थानीयबासीले भने लुम्बिनी विकास कोषले गर्ने काम र खर्च गर्ने बजेट पारदर्शी नभएको गुनासो गरेका छन् ।

लुम्बिनीमा यही वैशाख १५ र १६ गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र १७ गते बुद्ध जयन्ती मनाइँदैछ ।

बुद्ध जयन्ती र बौद्ध सम्मेलनमा ३ करोड खर्च गरिने विकास कोषका कामु सदस्य सचिव सरोज भट्टराईले जानकारी दिए । ‘६ करोडमध्ये ४ करोड अस्थायी सभा हल बनाउन नेपाली सेनालाई छुट्टाइयो, बाँकी २ करोड बुद्ध जयन्ती र बौद्ध सम्मेलनका लागि खर्च हुँदैछ,’ भट्टराईले भने, ‘अरु एक करोड अपुग हुने देखिएको छ, यसलाई अन्य शिर्षकबाट मिलाउने सोंचमा छौं ।’

बौद्ध सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले र बुद्ध जयन्ती मूल समारोहको उदघाटन राष्ट्रपति बिद्यादेवी भण्डारीबाट हुने लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले जानकारी दिए ।

यस वर्षको सम्मेलनको नारा ‘लुम्बिनी, नेपालः भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उदगमभूमि तथा विश्व शान्तिको मुहान’ रहेको छ ।

सम्मेलनमा १५ देशबाट संस्कृति तथा धार्मिक मामिला मन्त्री र २३ देशका बिभिन्न तहका ब्यक्तिहरु सहभागि हुनेछन् । बौद्ध सम्मेलन सकिएपछि लुम्बिनी घोषणापत्र जारी गरिनेछ ।

यसपटक बुद्ध जयन्तीलाई नयाँपन दिन बेबी बुद्धका तीनवटा आकृतिलाई तीनवटा हात्तीमा राखेर बुद्धनगरबाट शान्ति र्‍याली निकाली मायादेवी मन्दिर पुर्‍याउने कार्यक्रम रहेको विकास कोषले जनाएको छ ।

स्थानीयबासीलाई उपेक्षा गरिएको गुनासो

बुद्ध जयन्ती र बौद्ध सम्मेलनबारे जानकारी दिन कोषसले सोमबार अन्तर्क्रिया कार्यक्रम राखेको थियो ।

कार्यक्रममा सहभागी स्थानीय प्रल्हाद यादवले विकास कोषले गर्ने कार्यक्रम र खर्च गर्ने वजेट पारदर्शी नभएको आरोप लगाए । ‘विकास कोषले के काम गर्छ, कति बजेट कहाँ खर्च गर्छ, स्थानीयलाई थाहै हुँदैन,’ यादवले भने, ‘विकास कोष पारदर्शी छैन भन्ने गुनासो लुम्बिनीबासीको धेरै पहिलेदेखिकै हो ।’

उनले ४० वर्षअघि शुरु भएको लुम्बिनी गुरुयोजना अहिलेसम्म पूरा नहुनुले पनि अनेक आशंका जन्माएको बताए ।

अर्का स्थानीयबासी विरेन्द्र मिश्रले हरेक वर्ष मनाइने बुद्ध जयन्तीको हिसाब किताब पारदर्शी नभएको बताए । बुद्ध जयन्ती समारोहमा स्थानीयबासीलाई उपेक्षा गरिँदै आएको उनको गुनासो छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!