Oct 26, 2021

सेकेन्डह्याण्ड बाईक किन्दै हुनुहुन्छ?, होस् गर्नुहोस् है!

Apr 24 , 2018

तपाईँ  कुनै सेकेनह्याण्ड मोटरसाईकल किन्दै हुनुहुन्छ? यदि त्यस्तो हो भने  होसियार रहनुहोस्। तपाईँले किन्न खोजेको मोटरसाईकल चोरीको पनि हुन सक्छ।

यातायात कार्यालय जाने झन्झट नपर्ने घरमै सम्पूर्ण काम गरि ल्याईदिने भन्दै सस्तोमा मोटरसाईकल पाउने गल्ती नगर्नूहोला।

उपत्यकामा चोरीका मोटरसाइकललाई यसरी ठगी गरि बिक्री गर्ने गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ।

महङ्गा महङ्गा मोटरसाइकलहरू भारतबाट चोरी गरि नेपाल ल्याएर नक्कली ‘व्लुबुक’ बनाइ बिक्रि गर्दै आएको गिरोहका ३ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ।

३ देखि ७ लाख सम्म पर्ने विभिन्न ब्राण्डका मोटरसाईकल भारतीय बजारबाट चोरी गरि नेपाल ल्याउने र नक्कली कागजपत्र बनाएर बिक्रि गर्ने दाङ हेकुली ३ का समन चौधरी, मकवानपुरका धनबहादुर योन्जन र दोलखा किर्तेश्वर ८ का गोपाल नेपालीलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

पक्राउ परेको गिरोहले भारतीय बजारबाट विभिन्न ब्राण्डका मोटरसाइकल चोरी गरी नेपाल ल्याउने र नक्कली कागजपत्र बनाएर रिकन्डिसन हाउस तथा व्कक्तिगत रूपमा  विभिन्न ब्यक्तिलाई बिक्रि गर्ने गरेको पोखरेलले बताए।

पक्राउ परेकाले आफूहरु मुख्य ब्यक्ति नभएर एजेण्ट मात्र भएको प्रहरीमा बयान दिएका छन्। अवैध मोटरसाईकल बिक्रि गर्ने मुख्य गिरोह फरार भएको र उनीहरुको खोजी भइरहेको एसएसपी पोखरेलले जानकारी दिए।

‘गिरोहले भारतबाट ल्याएका भन्सार छलीका मोटरसाईकलका सम्पूर्ण कागज बनाएर केही सस्तोमा विभिन्न ब्यक्तिलाई बेचेको देखियो, त्यसमा किन्नेहरुको संलग्नता छ या छैन हामी अनुसन्धान गर्दैछौ,’ एसएसपी पोखरेलले भने।

उपत्यकामा चोरीका मोटरसाईकल बिक्रि भएको सूचना पाएपछि प्रहरीले त्यसमा अनुसन्धान थालेको थियो। अनुसन्धानकै क्रममा प्रहरी चितवन, बारा र पर्सासमेत पुगेको थियो।

प्रहरीले उपत्यका र विभिन्न स्थानमा गरी यसरी चोरी गरि ल्याएका १३ वटा विभिन्न ब्राण्डका मोटरसाईकल बरामद गरेको छ। जसको मूल्य ३ देखि ७ लाख सम्मका छन्।

गिरोहबाट मोटरसाईल किन्नेहरूले आफूहरू ठगिएको भन्दै प्रहरीलाई जानकारी दिएका छन्। केही सस्तोमा दिएको र यातायात कार्यालय जानुपर्दैन भन्दै कागजपत्र समेत घरमै ल्याइदिने भनेपछि आफूले किनेको बताएका छन्।

प्रहरीका अनुसार गिरोहले काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा एजेण्ड बनाएका हुन्छन्। एजेण्टले मोटरसाईकको अर्डर लिन्छन्।

भारतीय बजारमा चोरी गरि मोटरसाईकल चितवनमा ल्याएर राख्ने त्यसपछि नक्कली कागज बनाएर काठमाडौं ल्याउने गरेको प्रहरीले दाबी गरेको छ।

काठमाडौं ल्याए पछि उनीहरुले भाटभटेनी तथा विभिन्न अस्पतालका पार्किङमा राख्ने र किन्ने मान्छे आएपछि लगेर बेच्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

गिरोहका बारेमा विषेश अनुसन्धान भईरहेको एसएसपी पोखरेलले जानकारी दिए।