फुडमान्डु, जसले तपाईले चाहेको खाना खुवाउँछ

२८ चैत, काठमाडौं । मनोहर अधिकारीले ‘फुडमान्डू’ सुरु गर्दा तीन जना स्टाफ थिए-दुई जना डेलिभरी ब्वाइ र एक जना अफिस स्टाफ ।
तर, छोटो समयमै ई-कमर्स ‘फुडमान्डु’ नेपालको सफल स्टार्टअपको अग्रस्थानमा छ । यसले मनोहरलाई पनि सफल इन्टरप्रिनियरको सूचीमा उभ्याएको छ ।
फुडमान्डू अनलाइनबाट खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी हो । यसले आफैं खाना बनाउँदैन, शहरका नाम चलेकादेखि मध्यम खालका रेस्टुरेन्टहरुमा पाइने खानालाई तपाईको घरसम्म ल्याइदिने काम गर्छ ।
कम्पनीको झण्डै ५० हजार युनिक कष्टमर छन् र महिनामा करिव १० हजार अर्डर आउने गरेको छ
कसरी सुरु भयो फुडमाण्डू
फुडमान्डू खोल्ने आइडिया मनोहर स्वयंलाई पनि खप्नै नसक्ने भोक लागेको बेलामा नै फुरेको हो ।
उनी आईटी कम्पनीमा काम गर्थे । खाजा खान थोरै समय मिल्थ्यो । छोटो समयमा भनेको खाजा कहाँ पाउनू ?
यसको समाधान खोज्ने क्रममा उनलाई कसैले खाजा-खानाको अर्डर गरेर ल्याइदिए भन्ने लाग्यो । साथीसँग मिलेर आफैं फुडमान्डुको स्थापना गर्ने निर्णय गरे । थोरै लगानी र सानो टिम थियो ।
अधिकारीलाई लागेको थियो कि अनलाइनमा रेष्टुरेन्टका मेनुहरु राखेपछि भटाभट अर्डर आउँछन् र रेस्टुरेन्टले डेलिभर गर्छ । फुडमान्डुलाई अर्डर लिने प्लेटफर्म मात्रै बनाउन खोजिएको थियो ।
तर, उनले सोचेको जस्तो भएन । रेष्टुरेन्टहरुले समयमै डेलिभरी दिन सकेनन्, जसले ग्राहकमा विश्वास पैदा नहुने अवस्था आयो ।
‘हामीले रणनीति परिवर्तन गर्यौं र ग्राहकबाट अर्डर लिएपछि हाम्रै स्टाफमार्फत डेलिभरी दिने योजना बनायौं,’ अधिकारी सम्झन्छन्, ‘ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राखेपछि हामी सफलताउन्मुख भयौं ।’