Sep 28, 2023

सिन्धुपाल्चोकमा बोलेरो र बस दुर्घटना हुँदा चारको मृत्यु

Apr 09 , 2018

सिन्धुपाल्चोकमा गए राति बोलेरो र बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

जिल्लाको मेलम्ची नगरपालिका–९ ज्यामिरे पिपलटारको झिल्के मोड भन्ने स्थानमा बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको इप्रका मेलम्चीले जानकारी दिएको छ। आइतबार बेलुका ८ बजे मेलम्चीबाट सिमेन्ट लिएर रातमाटे जाँदै गरेको बा१८प ४६९९ नंको बोलेरो गाडी सडकबाट करिब ३०० मिटर तल खोलामा खसेको थियो।

दुर्घटनामा परी मुत्यु हुनेहरूमा ३५ वर्षीय चालक मेलम्ची नगरपालिका–९ ज्यामिरेका सुरेश तामाङ, ज्यामिरेकै ४२ वर्षीय मोती अधिकारी र १२ वर्षीय बालक कमल स्याङ्बोको घटनास्थलमा नै मृत्यु भएको मेलम्चीका प्रहरी नायब निरीक्षक श्रीराम केसीले बताए। बढी लोड बोकेका कारण मोडमा ब्रेक नलागेर गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

त्यस्तै, हेलम्बु गाउँपालिका–१ तिम्बुमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। काठमाडौंबाट हेलम्बुको तिम्बुका लागि छुटेको बा२ख ६३६५ नंको हेलम्बु यातायातको बस गए राति दुर्घटना भएको हो। राति १० बजेतिर तिम्बु बसपार्क नजिकै दुर्घटना भएको हो। दुर्घटनामा बसका सहचालक इन्द्रावती गाउँपालिका–३ बाँडेगाउँका महेन्द्र भुजेलको मृत्यु भएको छ भने चालक फरार रहेको प्रहरीले जनाकारी दिएको छ। बसमा सवार अन्य चार जना घाइतेको उपचारका लागि आइतबार राति नै धुलिखेल अस्पताल लगिएको छ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस

Facebook Notice for EU! You need to login to view and post FB Comments!