सुनकोशीमा जीप खस्दा ७ जनाको मृत्यु

पुस ३, सिन्धुली । काठमाडौंबाट खोटाङको हलेसीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो सो जीप रत्नावती गाविस–३, मध्यपहाडी लोकमार्गको सोखुखोला नजिकबाट करिब २ सय मिटर तल सुनकोशी नदीमा खस्दा जीपमा सवार ९ जनामध्ये ७ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ३ महिलासहित ७ जना रहेका छन् । जसमा सिन्धुपाल्चोक फुल्पिङकट्टि–७ का ५० वर्षीय साङदोर्जे शेर्पा, ५० वर्षीया निवुटी शेर्पा, ५७ वर्षीया बाले शेर्पा सोही गाविस वडा नम्बर ९ की ५० वर्षीया सर्कीना शेर्पा र जीप चालक लमजुङ समिभन्ज्याङका ४० वर्षका झपटबहादुर गुरुङ रहेका छन् ।
त्यसैगरी काठमाडौं गोलढुङ्गाकी ६० वर्षीया टुकुली शेर्पाको उपचारको क्रममा जनसेवा अस्पतालमा मृत्यु भएको छ । प्रहरीका अनुशार मृतक एक जनाको सनाखत हुन सकेको छैन ।
बा १२ च ८८९७ नं. रहेको स्कारपियो जीप नदीमा खसेपछि जीपमा सवार एक जना बेपत्ता रहेको र अर्को एक महिलाको उदयपुरको घुर्मीमा रहेको जनसेवा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।